
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१० मंसिर ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंगलबारदेखि औपचारिक रूपमा शुरू भएको छ ।
हरेक वर्ष (नोभेम्बर २५) देखी डिसेम्वर १० सम्म विभिन्न सचेतनामुलक कार्यक्रम गरी विश्वव्यापी रुपमा मनाईँने यस अभियान यस वर्षको मंसिर ९ अर्थात नोभेम्बर २५ देखी प्रभातफेरी कार्यक्रम गरी औपचारिक रुपमा सुरु गरिएको हो ।
साथै मंगलबारबाट आगमी डिसेम्बर १० तारेखसम्म प्रत्येक दिन एक एक दिवस पर्ने भएकोले १६ दिनसम्म पनि सरकारी तथा गैह्र सरकारी संघ संस्थाको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन मंगलबार धादिङबेशीमा मुल आयोजक समिति नीलकण्ठ नगरपालिकाको संयोजन तथा विभिन्न गैह्र सरकारी संघ संस्थाको सहकार्यमा प्रभातफेरी आयोजना गरि विधिवत रुपमा सुरुवात गरिएको हो ।
‘ सबै महिला तथा बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने अन्तर्राष्ट्रिय नारा र‘ प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नारा नाराका साथ विभिन्न संघसंस्थाहरुको सहकार्यमा पुच्छारबजारदेखि सिरानबजारसम्म प्रभातफेरी र्याली निकालिएको हो ।
सरकारको भनाइ अनुसार अभियानको उद्देश्य लैङ्गिक हिंसाबारे समुदायमा जनचेतना जगाई प्रविधिको उचित प्रयोग गर्न र हिंसा रोकथाम गर्ने हो ।
यसका साथै महिलाको अधिकार संरक्षण र सशक्तिकरणलाई अघि बढाउने बताएको छ । संयुक्त राष्ट्रसंघको १९९९ को महासभाले नोभेम्बर २५ लाई ‘महिला हिंसा अन्त्य भएको दिनलाई दिवसका रुपमा’ घोषणा गरेपछि विश्वभर १६ दिने अभियान मनाउन थालिएको थियो ।
नेपालमा भने वि.सं.२०५४ पछी मात्रै मनाउन थालिएको हो । हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा घटेको छैन । बरु यसै अभियानको पहिलो दिनमा मंगलबार रौतहडमा परिवारका सबै सदस्य मिलेर २२ वर्षीया बुहारी तरिमा खातुनको हत्या भएको छ । साथै अझिैपनि सयौं महिलामाथी बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथा र घरमा जेठी श्रीमती हुंदा हुंदै दोस्रो विहे तथा परथ्रीसंग लागेर कयौं श्रीमाने हिंसा गरी राखेका छन् ।
यस्ता जघन्य अपराधबाट समाजमा उत्पन्न समस्या अहिलेसम्म पूर्ण रूपमा अन्त्य हुन सकेको छैन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तीनै तहका सरकार, विद्यालय, संघ–संस्था र सरोकारवालाहरुलाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। तथापी अभियानले खासै लक्ष्य पाउन नसकेको र हिंसाका घटनाहरु ज्यैं का त्यौं रहेको अवस्था कायमै देखिन्छ ।







प्रतिक्रिया दिनुहोस