आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

महिलालाई अपमानजनक शब्द बोल्ने नेतृत्व अब देशलाई चाहिँदैन :अष्टलक्ष्मी शाक्य

२०८२ मंसिर २३, मंगलबार मा प्रकाशित ( २ महिना अघि) ३३८० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२३ मंसिर ।

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओली महिलालाई अपमानजनक शब्द बोलेकोले यस्तो नेतृत्व अब देशलाई नचाहिँने बताउनु भएको छ । नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा वलीले पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति प्रयोग गरेको शब्दले समग्र महिलाको अपमान भएको आरोप लगाउनु भएको हो।

पार्टीका वरिष्ट उपाध्यक्ष ईश्वर पोखरेलको समूहले मंगलबार काठमाडौँमा आयोजना गरेको पार्टीको कार्यक्रममा बोल्दै शाक्यले ओलीको अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाउनु भएको छ। नेतृ शाक्यले भनिन्, “धामी, झाँक्री भनेको के हो ? यस्तो अपमानजनक शब्द प्रयोग गर्न पाइन्छ ? सामान्य व्यक्तिलाई पनि यस्ता शब्द प्रयोग हुँदैन, पूर्वराष्ट्रपतिलाई त झनै हुँदैन।”

पार्टीको अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष ओलीले एक मिडियासँगको कुराकानीमा भण्डारीलाई लक्षित गर्दै ‘धामीले जस्तो ढ्याङ–ढ्याङ पार्दै अध्यक्ष छोड् भन्दै आउने’ भन्ने टिप्पणी गरेका थिए। सोही विषयलाई लिएर शाक्यले यस्तो अभिव्यक्ति नेतृत्वको हैसियतमा असुहाउँदो मात्र होइन, महिलाप्रति गलत दृष्टिकोणको द्योतक भएको व्यक्त गरेकी हुन्।

नेतृ शाक्यले, “नेतृत्वमा बसेका मानिसले यस्तो बोल्नु हुँदैन। तर केपी कमरेडले गर्नुहुन्छ, किनकि उहाँको सोचै छैन। महिलाप्रति हेर्ने दृष्टिकोण नै गलत छ।”

महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत आज १५ औं दिनमा लैंगिक हिंसा विरुद्धको अभियान जारी रहेको अवस्थामा यस्तो शब्द प्रयोग गर्नु झनै आपत्तिजनक रहेको शाक्यको भनाइ छ। उनले यस्तो नेतृत्व देशलाई आवश्यक नरहेको धारणा राख्नु भएको हो।

“अभियानकै बीचमा यस्ता शब्द बोल्नु सबै महिलाको अपमान हो। यसको विरुद्धमा सशक्त आवाज उठाउनुपर्छ। यस्तो नेतृत्व अब आवश्यक छैन,” शाक्यले भनिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%४%

प्रतिक्रिया दिनुहोस