
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ २७ मंसिर।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबार सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने भएको हो।
एमालेले यस ११ औँ महाधिवेशनबाट साढे २२ सय प्रतिनिधिहरु पार्टीको नेतृत्वमा चयन गर्नेछन्।
महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख पार्टीका सदस्यहरु सहभागी हुने पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन्। उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ।
महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नयाँ कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टी अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ।
महाधिवेशन परिचालन समिति संयोजक तथा एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईका अनुसार भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कुटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भएको जानकारी दिए ।
महाधिवेशनलाई भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिने बताइएको छ। कार्यक्रममा आएका प्रतिनिधिलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन हुने भएका छन्।
टाढासम्मका सहभागीले वक्ताले बोलेको प्रष्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखिएका छन्। तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका ‘साउण्ड सिस्टम’ जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सी राखिएको छ।
महाधिवेशन उद्घाटनसत्रमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तय गरिएको छ। पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा शुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको छ।







प्रतिक्रिया दिनुहोस