आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

संसद् पुनःस्थापनाको पूरक रिटमा आज सुनुवाइ हुँदै

२०८२ पौष ९, बुधबार मा प्रकाशित ( १ महिना अघि) २२९५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ ९ पुस।

प्रतिनिधिसभा पुनःस्थापना गर्न राखेको मागमा कांग्रेससहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा आज सुनुवाइ हुने भएको छ। नेपाली कांग्रेसका ६५ र अन्य दलका तीन साँसदसहित कुल ६८ सांसदको हस्ताक्षर गरी पूरक रिट मंगलबार वारेसमार्फत सर्वोच्च अदालतमा दर्ता गरिएको थियो ।

पूर्वसांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस बुझाएका थिए। यसअघि कांग्रेसका ८ सांसदले मङ्सिर २३ मा पनि रिट दायर गरेका थिए । त्यसकै थप ६० सांसद प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्चमा रिट दायर गराएका हुन्।

कांग्रेस बाहेक जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि प्रतिनिधिसभा पुनःस्थापनाको माग राखी हस्ताक्षर गरेका थिए। हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल रहेका छन्।

त्यस्तै नेकपा एमालेका ७५ सांसदले पनि प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्नेमा हालसम्म हस्ताक्षर बुझाउने सांसदको सङ्ख्या १४३ पुगिसकेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस