आज: २०८२ पौष २५, शुक्रबार | Fri, 09, Jan, 2026

अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा रोक लगाइने

२०८२ पौष २५, शुक्रबार मा प्रकाशित ( १६ घण्टा अघि) ३७३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२५ पुस ।

सरकारले निर्वाचनअघि अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका विदेश भ्रमणमा रोक लगाउने भएको छ ।

यसका साथै कर्मचारी नियुक्ति र सरुवामा पनि छिट्टै रोक लगाउने तयारी छ । निर्वाचन नजिकिँदै गईरहेकोले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विदेश भ्रमण, नियुक्ति र कर्मचारी सरुवामा पूर्ण रूपमा रोक लगाउनु पर्नेमा छलफल गरिएको हो।

सरकारका प्रतिनिधिहरुलाई अनिवार्य रुपमा सहभागिता जनाउनु पर्ने अवस्था आएमा सरकारबाटै प्रतिनिधित्व गर्ने बाहेकका अन्य विदेश भ्रमणमा रोक लगाउने गरी गृहकार्य अघि बढाइएको बताईएको छ । प्रतिनिधिसभाको २१ फागुनमा हुने निर्वाचन आउन अब ५५ दिनमात्रै बाँकी छ ।

निर्वाचन आयोगले समेत कर्मचारी सरुवा रोक्ने गरी आचारसंहिता लगाउने तयारी गरिरहेको छ । यद्यपि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि ठूलो लटमा गरिने नियमित सरुवाको कार्यमा रोक लगाएको छ ।

सरकारका मुख्य सचिव सुमनराज अर्यालले अत्यावश्यक बाहेकका विदेश भ्रमणमा कडाइ गर्ने बारेमा आवश्यक छलफल भइरहेको बताउनु भयो । अर्यालका अनुसार पछिल्ला केही दिनयता सरकारका सचिव, सहसचिवलगायतका उच्चतहका कर्मचारीहरू विदेश नगएको बताइएको छ ।

मुख्य सचिव अर्यालले भन्नु भयो– ‘सकेसम्म विदेश भ्रमणमा कडाइ गर्दै आएका छौं, अनिवार्य रूपमा देशकै प्रतिनिधित्व आवश्यक पर्ने बाहेकका सबैखाले विदेश भ्रमणमा कडाइ गर्न थालेका छौं ।’ निर्वाचन नजिकिँदै गएकोले चुनावलाई कुनै असर पर्न नदिन अत्यावश्यक र सेवा प्रवाह नै अवरुद्ध हुने बाहेकका सबै खाले सरुवाहरू रोकिएको जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो– ‘निर्वाचन र गृह प्रशासनसँग सम्बन्धित कर्मचारी व्यवस्थापन, रिक्त स्थानीय तहमा व्यवस्थापन तथा विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनबाहेक अन्य सबै खालका सरुवाहरू रोकेका छौं ।’

सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवामा भन्दा अब नीतिगत सुधारको कामलाई अघि बढाइएको जनाएको छ । विगतदेखी नै कर्मचारी सरुवामा दबाब आउने गरेको छ । मन्त्रालयमा कर्मचारी सरुवाका लागि विभिन्न ट्रेड युनियनका नेताहरूले अनावश्यक दबाब दिने क्रम पनि रोकिनुको साटो बढिरहेको छ ।

यसका साथै ट्रेड युनियनका केही नेताहरूले नै आर्थिक चलखेल गर्दै सरुवालाई खेतीको विषय  बनाउँदा कतिपय सरुवा विवादित हुने गरेको छ ।

विगतमा राजनितिक दलका भातृ संघ संगठन नेताहरुले सजरी नै पछिल्ला पुस्ता   जेन–जी अगुवाहरूले समेत यसरी  सरुवामा अनावश्यक दबाब दिँदा मन्त्रालयका अधिकारीहरू हैरान हुन थालेका हुन्

सरुवा खेतीमा वर्षौंदेखि लाग्दै आइरहेका विभिन्न ग्रुपहरूले पछिल्ला केही समयदेखि जेन–जी अगुवाहरूलाई समेत प्रयोग गर्न थालेको बताइएको छ ।

जेन–जी अगुवाहरू सरुवामा प्रयोग हुन थालेपछि उनीहरूको सुशासनको नाराले जेन–जी अगुवा आफैंलाई व्यङ्ग्य गरिरहेको मन्त्रालयका कर्मचारीहरूको भनाइ छ ।छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस