
नारी बाटिका
नारी वाटिका संवाददाता
झापा -९ माघ ।
झापाका एमाले पार्टी अध्यक्ष तथा चिकित्सक डा. रामबाबु गिरीले नेकपा (एमाले)परित्याग गरेका छन् । गिरीले एमाले अध्यक्ष केपी शर्मा ओली र निवर्तमान सभामुख देवराज घिमिरेसँग भेटी पुराना दलहरूमा नयाँ पुस्तालाई अवसर नदिइएकोले पार्टी छोड्ने निर्णय गरेका हुन् ।
डा.गिरीका अनुसार “जेनजी आन्दोलनपछि नै मलाई पुराना दलप्रति मन मरेको थियो । त्यतिधेरै मान्छे सहिद भए, कयौं घाइते भए । मैले पटक पटक पार्टीमा युवा पुस्तालाई मौका दिनुपर्छ भन्दै आएका थिएँ । तर, अहिले पनि निर्वाचनमा फेरि त्यही पुराना मान्छे दोहोरिने जस्ता कार्य भए । त्यसैले मैले ओलीजी र निवर्तमान सभामुखजीलाई राखेर स्पष्ट भनेको छु – तपाईंहरूको पार्टीमा म अब बस्दिनँ ।”
यसपछी डा. गिरीले एमाले परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने घोषणा गरेका छन् । उनी लगायत यसअघि दमक युवा संघ नगरकमिटीका अध्यक्ष पनि रास्वपामा प्रवेश गरिसकेका छन् । डा. गिरीले रास्वपाका तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सहयोग गर्नका लागि आफुले यस्तो कदम चालेको बताएका छन् ।
उनी लामो समयदेखि एमालेका अध्यक्ष केपी शर्मा ओलीका निकट विश्वासपात्रका रूपमा परिचित थिए । झापा जिल्लामा एमालेको पार्टीमा सक्रिय रहेका उनले स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पु¥याएका छन् । बिएण्डसी अस्पताललाई पूर्वाञ्चलकै प्रमुख स्वास्थ्य संस्थाका रूपमा विकास गरेको त्यस क्षेत्रका वुद्धजिवीहरु वताउँछन् । गिरीले पार्टी राजनीतिमा पनि उल्लेख्य भूमिका निर्वाह गरेको एमाले पार्टी स्रोत झापाको नै भनाइ छ ।
डा. गिरीको रास्वपामा प्रवेश गर्ने निर्णयले झापा क्षेत्र नं. ५ को राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । यो क्षेत्रबाट यसअघि एमालेका तर्फबाट उम्मेदवारी दिएका गिरीले अब रास्वपाको पक्षमा सक्रिय सहयोग गर्ने बताइसकेका छन् ।







प्रतिक्रिया दिनुहोस