
नारी बाटिका
बिबियु, नारी वाटिका संवाददाता
धादिङ – १९ माघ ।
हाल देशभर पश्चिमी न्यून चापीय प्रणाली बलियो बनेर मौसम बदली हुंदैछ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आईतबारदेखी सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिएको थियो भने सोही प्रणाली आज केही बढेर पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने र भोली मङ्गलबारसम्म मध्य नेपालमा फैलिने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।
आजदेखी यी क्षेत्रमा पूर्ण बादल लाग्ने छ भने बाँकी क्षेत्रमासमेत आंशिक बादल लागी चिसो बढ्ने सम्भावना छ । अघिल्लो बुधबारको जत्तिको बलियो प्रणाली नभए पनि पश्चिम नेपाल चिसो भइसकेको र हिउँ परिरहेको अवस्थामा अबको प्रणालीले पनि मध्यमसम्म वर्षा तथा हिमपात गराउने मौसमविद् अधिकारीको भनाई छ।
उनका अनुसार यस “प्रणालीले मध्यनेपालभन्दा पश्चिममा बढी असर गर्ने देखिन्छ, आज पनि कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा बदली भएको छ, त्यो बदली अझै बढ्ने देखिएको छ । मङ्गलबार मध्यनेपालभन्दा पश्चिममा बदली भएर वर्षा र हिमपात बढाउँछ ।”
महाशाखाका अनुसार यसपालि पश्चिमबाट मध्यनेपालसम्म असर पार्ने बताईएको छ । यसको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा गराउने छ । साथै कोशी, बागमतीको माथिल्लो भेगमा पनि असर गर्नेछ भने तल्लो भाग र तराई क्षेत्र र मधेस प्रदेशमा पनि न्यून असर रहने छ ।
आज(सोमबार) तराई भू–भागका एक दुई स्थानमा हुस्सु-कुहिरो रहने तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने र बाँकी भागमा आंशिक बादल लाग्ने तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना छ ।
यस्तै आज राति तराई भू–भागका केही स्थानमा हुस्सु कायमै रहने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी भू–भागमा आंशिक बादल रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात(वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका बाँकी भागका केही स्थान र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भाग तथा कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस