आज: २०८२ फागुन ७, बिहिबार | Thu, 19, Feb, 2026

(Untitled)

२०८२ फागुन ७, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) ६३ पटक पढिएको
नारी बाटिका


जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनआज विभिन्न कार्यक्रम गरिँदै

आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईँदैछ । प्रजातन्त्र दिवसका अवसरमा मूल समितिद्वारा बिहिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनु हुनेछ। साथै समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

२००७ साल फागुन ७ गते अर्थात आज कै दिन नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा मनाईने यस दिवसलाई लिने गरिएको छ।

जुन बेला मुलुकमा प्रजातन्त्र स्थापनाका लागि शहिदहरुले गरेको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए।

उक्त समयमा उनै सहिदहरुले प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी देशमा प्रजातन्त्र ल्याउनका लागि जनतालाई जागरण गरेको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।

२००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको हो।

जन नेता बीपी कोइरालाकै नेतृत्वमा गरिएको सशक्त संघर्षले नेपालमा जहानियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणाशासक जनतासमक्ष घुँडा टेक्न बाध्य गराई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो। तत्कालीन राजा त्रिभुवनले गरेका त्यसै घोषणापछि राणा शासक र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक व्यवस्थाको सूत्रपात भएको हो ।

नेपाली काँग्रेस कै नेतृत्वमा जनताले गरेका क्रान्तिका कारण राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र घोषणा भएको २००७ साल फागुन ७ गतेका दिनलाई सम्मान गर्दै सरकारले हरेक वर्ष फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै सार्वजनिक बिदा दिएको छ।

त्यस यता नेपालमा फागुन ७ मा प्रजातन्त्र दिवस, वैशाख ११ मा लोकतन्त्र दिवस र जेठ १५ गते गणतन्त्र दिवस मनाईँदै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस