
नारी बाटिका
भगवती भण्डारी उप्रेती(बिबियु)
नारी वाटिका संवाददाता
धादिङ ९ फागुन ।
प्रतिनिधि सभा क्षेत्र न २, धादिङका नेपाली काँग्रेस तर्फका उम्मेदवार रमेश धमलाले मतदाता भेटघाट कार्यक्रमलाई तिब्र पार्नु भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि चुनावी मैदानमा रहनु भएका धमलाले आफ्नो निर्वाचन क्षेत्रका मतदाताको समस्या,गुनासा र सुझाव संकलनका लागी हाल नागरिकका बस्ती बस्तीमा पुगेर समुदायसंग साक्षात्कार अभियानलाई तिब्र बनाउनु भएको हो ।
मतदाता भेटघाट कै क्रममा उहाँ फागुन १० गतेदेखी १२ गतेसम्म धादिङ जिल्लाको उत्तरी हिमाली क्षेत्रमा अवस्थित एक दुर्गम तर प्राकृतिक रूपमा अत्यन्तै समृद्ध गाउँपालिका रूबीभ्याली गाउँपालिकाका समुदायसंग भेटघाट गर्ने कार्यतालिका रहेको छ ।
धादिङ जिल्लाकै फरक र प्राकृतिक संपदाले भरिएको यस रूबीभ्याली गाउँपालिकाको सीमाक्षेत्र उत्तरतर्फ तिब्बतसँग जोडिएको छ भने पूर्वमा रसुवा जिल्ला र पश्चिममा गोरखा जिल्लासँग सिमाना जोडिएको छ । जिल्लाको सदरमुकाम धादिङवेसीबाट करिब ८० किलोमिटर टाढा रहेको यहाँको भू–आकृति उच्च पहाड र हिमाली भागले बनेको छ ।
जसको उचाइ करिब १,५०० मिटरदेखि ७,००० मिटरभन्दा माथिसम्म फैलिएको पाइन्छ । यस क्षेत्रको प्रमुख आकर्षण पर्यटकीय क्षेत्र गणेश हिमाल हो, जसलाई हिन्दू र बौद्ध धर्ममा पवित्र मानिन्छ । यहाँ विभिन्न साना–ठूला खोलानाला, हरियाली वन, महत्वपुर्ण जडीबुटी तथा जैविक विविधता पाइने भएकाले प्राकृतिक दृष्टिले यो क्षेत्र धादिङ जिल्लाकै निकै महत्वपूर्ण मानिन्छ ।
धार्मिक रूपमा रुबीभ्याली पालिकामा विशेषगरी बौद्ध, इसाई, हिन्दु धर्मावलम्बीहरूको बसोबास रहेको छ । यहाँ रहेका गुम्बा, चर्च, चैत्य तथा अन्य धार्मिक स्थलहरूले धार्मिक पर्यटनको महत्वको सम्भावना बढाएका छन् । ल्होसार लगायतका पर्वहरू यहाँ विशेष उत्साहका साथ मनाइन्छन् ।
सांस्कृतिक दृष्टिले पनि यहाँ तामाङ समुदायको बाहुल्यता रहेको छ। तामाङ भाषा, भेषभूषा, तामाङ सेलो नृत्य, लोकगीत तथा परम्परागत चालचलन यहाँको पहिचान हुन् । कृषि, पशुपालन तथा जडीबुटी संकलन यहाँका मुख्य परम्परागत पेशा हुन्,जसले स्थानीय जीवनशैलीलाई झल्काउँछन् ।
पर्यटकीय सम्भावनाको दृष्टिले रुबीभ्याली अत्यन्त आकर्षक क्षेत्र हो । गणेश हिमाल आसपासका पदयात्रा मार्ग, स्वच्छ वातावरण, हिमालका मनोरम दृश्य, झरना र हरियाली प्राकृतिक सम्पदाले पर्यटकहरूलाई लोभ्याउन सक्छन् । ट्रेकिङ, हाइकिङ तथा ग्रामीण होमस्टे जस्ता गतिविधिहरू विकास गर्न सकिने राम्रो सम्भावना रहेको छ ।
साथै तामाङ संस्कृति, स्थानीय खानपान र परम्परागत नृत्य–संगीतले सांस्कृतिक पर्यटनलाई पनि प्रवर्द्धन गर्न सक्छ । यद्यपि सडक, सञ्चार, स्वास्थ्य सेवा र आवास जस्ता पूर्वाधारको कमी, प्राकृतिक विपद्को जोखिम तथा प्रचार–प्रसारको अभावले यस क्षेत्रका मुख्य चुनौतीहरू हुन् । आवश्यक पूर्वाधार विकास, स्थानीय सहभागिता र उचित योजना कार्यान्वयन गरिएमा रुबीभ्याली गाउँपालिका धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुन सक्ने प्रबल सम्भावना देखिन्छ ।
यो सबै वस्तुस्थिति बुझेका पर्यटन व्यवसायी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता एवं आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार धमला यही फागुन १०, ११ र १२ गते ३ दिनको लागि “मतदाता भेटघाट तथा घरदैलो अभियान” लिएर रूबीभ्याली गाउॅंपालिकाको यात्रामा जाने कार्यतालिका रहेको छ।
नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समिति क्षेत्र न.२ धादिङका अनुसार यात्राको क्रममा उम्मेदवार धमलाले त्यहाँका नागरिकहरूसँग प्रत्यक्ष साक्षात्कार गर्न, स्थानीय समस्या बुझ्न र उनीहरुका भावना सुन्न घरदैलोमा जाने कार्यक्रम तयार गरिएको हो ।
नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलालाई सुनौं, बुझौं, र प्रश्न पनि गरौं भन्ने मुख्य नारा लिएर गाउँ बस्तीमा पुगेका नेता धमलाले निर्वाचन केवल मतदान गर्ने औपचारिकता मात्रै होइन, मक्किएको कार्यशैलीलाई जनउत्तरदायी शासनले प्रतिस्थापन गरी सुशासन र स्थायित्व दिने एउटा ऐतिहासिक प्रस्थानविन्दु बनाउने आफ्ना प्रतिज्ञा रहेको बताउनु भएको छ ।
“धमला भन्नु हुन्छ :यो यात्रामा जो जससंग भेटघाट हुन्छ उहाँहरूसंग प्रत्यक्ष कुराकानी हुन्छ, समय अभाव, व्यवहारिक समस्या तथा अन्य विविध कारणले भेट हुन नसक्नु भएका आम मतदातासंग म नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य क्षेत्र न २, धादिङको उम्मेदवारको मोबाइल फोन नम्बर ९८५१०३११७९ र सामाजिक संजाल मार्फत पनि कुराकानी गर्ने नै छु ” ।







प्रतिक्रिया दिनुहोस