
नारी बाटिका
बिबिय,नारी वाटिका संवाददाता
धादिङ – १४ फागुन ।
निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि लागु हुनेगरी मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने भएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको कडाईका साथ सुरक्षा व्यवस्था मिलाउन निर्वाचन सुरक्षा (व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन(एम्बुलेन्स,दमकल, शवबाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन चल्न पाउने छन् ।
त्यसगरी विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने,, कूटनीतिक नियोगका सवारी साधन र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी अनुमति प्राप्त गरेका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० गते राति १२ बजेदेखि भोलिपल्ट फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म उल्लेखित सवारीसधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनु भयो ।
यसका साथै मतदानको मितिभन्दा सातदिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न मुलुकभर प्रतिबन्ध लगाउन गृहमन्त्रालयलाई सिफारिस गरेको छ । बैठकले ७७ वटै जिल्लामा निर्वाचन सुरक्षाका लागि मादकपदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबद्ध लगाउने निर्णय गरिएको हो ।
जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन(कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू कहीँकतै उल्लङघन भएको पाइएमा प्रचलित कानुनले तोक अनुसार कारबाही गरी आयोगमा जानकारी गराउन पनि गृहमन्त्रालय मार्फत सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरिएको प्रवक्ता भट्टराईले बताउनु भयो ।
निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्नका लागि फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृहमन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन गरिसकेको छ ।
प्रवक्ता भट्टराईका अनुसार मतदानको दिनमा पनि अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू यथावत् सञ्चालनको व्यवस्था मिलाइएको छ । अन्तरराष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलबाट घर बसोबास गर्ने होटलसम्म र घर÷बसोबास गर्ने होटलबाट विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी साधन प्रयोग गर्न दिने व्यवस्था मिलाइएको छ ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ६ बमोजिम निर्वाचनमा शान्ति सुरक्षा कायम गर्ने, तोकिएका सबै कार्यहरूसहित सोही दफाको खण्ड (झ) मा उल्लेख बमोजिम निर्वाचन मिति भन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तरराष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउन पनि आयोगले गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयमा निर्देशन दिएको छ ।
फागुन २१ मा हुने निर्वाचन (मतदान) निर्देशका, २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्र लिएर मतदान केन्द्रमा जानुपर्ने गरी व्यवस्था गरिएको छ ।
माथी उल्लेखित सवारीसाधनको अनुमति पत्र प्रदान गर्न कार्यविधि, २०८२ बमोजिम मतदानको दिनमा आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा पास वितरण इकाई खडा गरिनेछ ।







प्रतिक्रिया दिनुहोस