आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

सोमबार मध्यरातदेखि मौन अवधि सुरु, चुनावी प्रचारप्रसार बन्द

२०८२ फागुन १९, मंगलबार मा प्रकाशित ( १ महिना अघि) १७०६ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता
धादिङ -१९ फागुन ।

प्रतिनिधिसभा सदस्यका लागि अब दुई दिन मात्रै बाँकी छ । निर्वाचनका लागि सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ।

निर्वाचन आचारसंहिता अनुसार मतदानको दिन सुरु हुनु ४८ घण्टा अगाडीबाट मतदानको कार्य नसकिएसम्म मौन अवधि कायम रहने भएकोले प्रचार प्रशार, भाषण, भेला, छलफललगायतका निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइने छैन।

यसैगरी यस मौन अवधिमा मत माग्न, सामाजिक सञ्जालमा पोस्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी क्रियाकलाप गर्न गराउन नपाउने निर्वाचन आयोगले जनाएको छ। साथै यस अवधिमा निर्वाचनलाई प्रभाव पार्ने खालको आर्थिक कारोबार गरेको भेटिए उम्मेदवारी खारेजीदेखि ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने गरी कारबाही हुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनु भयो।

त्यसैगरी मतदानको समयमा प्रतिस्पर्धीबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता त्रसित नहोऊन् भनेर मतदानको ४८ घण्टा अघिदेखि मौन अवधि लागू गरिएको हो। मौन अवधि सुरु भएसंगै निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री समेत हटाउन लगाउन पर्नेछ।

आयोगले तोकेको कार्यतालिका अनुसार ६ माघमा उम्मेदवारी दर्ता गराएका दलहरूले ४ फागुनदेखि आ -आफ्ना चुनावी प्रचारप्रसार गरी मतदातासंग मत माग्दै आएका थिए।

मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नु पर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न गराउन नपाउने निर्वाचन आयोगले जनाएको छ ।

यसमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले तोकिएका आचरण पालन गर्नु पर्ने भनिएको छ। त्यस्तै यस अवधीमा कुनै पनि विधि प्रयोग गरी मत माग्न र निर्वाचन प्रचार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष, विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन पाईने छैन।

आयोगले निर्वाचन आउन दुई दिन बाँकी रहँदा हुनसक्ने सम्भावित घटना, झैझगडा, आर्थिक चलखेल नियन्त्रण र मतदान सम्पन्न गर्न करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरेको छ । जसमा नेपाली सेना, नेपाल प्रहरी बल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको निर्वाचन प्रहरी परिचालित छन् ।

साथै यस निर्वाचनमा विशेषगरी झापा क्षेत्र नं–५ र सर्लाही–४ मा गृह मन्त्रालयले विशेष सुरक्षाको व्यवस्था गरेको छ । नेपाली सेनाले सर्लाही–४ मा विशेष निगरानीसमेत राखेको छ ।

निर्वाचन हुने दिनमा अत्यावश्यक नेपाली सेवाका सवारीसाधन एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतमा प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोगका र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारी साधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न पाईने छैन ।

त्यसैगरी संन्चारकर्मी तथा सञ्चारमाध्यमको हकमा पनि सूचना विभाग तथा सम्वन्धित संन्चारगृह्रको परिचयपत्रको आधारमा पास भएका पत्रकारलाई सम्बन्धित पत्रकारले प्रयोग गर्न मिल्नेगरी सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।

हवाईयात्रुको हकमा भने मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत् सञ्चालन व्यवस्था मिलाउने, अन्तर्राष्ट्रिय र आन्तरिक तर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर र बसोबास गर्ने होटलसम्म र घर र बसोबास गर्ने होटलदेखि विमान स्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाएको छ ।

आयोगले भोलि (बुधवार)२० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म अन्य सवारीसाधन प्रयोग गर्न रोक लगाएको छ । अन्यको हकमा जिल्ला प्रशासन कार्यालयको पास अनिवार्य गरेको छ ।

पर्सी बिहिबार हुने निर्वाचनमा देशभरबाट कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । निर्वाचन सम्पन्न गर्न आयोगले देशभरमा १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरू तयार गरेको छ । निर्वाचनमा १६५ प्रत्यक्ष र ११० जना समानुपातिक तर्फका गरी २७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस