
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ २० फागुन ।
प्रतिनिधि सभा निर्वाचनमा खटिएका प्रहरी तथा कर्मचारीहरू गरी हालसम्म १४ जनाको मृत्यु भएको छ। निर्वाचनको सुरक्षामा खटिएका सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित मतदान केन्द्रका मतदान अधिकृत ४२ वर्षीय रघुनाथ महतो अचानक बेहोस भई उपचारका क्रममा मृत्यु भए।
कञ्चनपुरमा निर्वाचन ड्युटीमा रहेका ३५ वर्षीय मानसिंह राना पनि बेहोश भई उपचारका क्रममा निधन भयो। उनी उच्च रक्तचाप र मधुमेहका बिरामी भएको खुल्न आएको छ।
त्यस्तै बैतडीमा एक महिनाको अवधिमा तीन जना निर्वाचन प्रहरीको मृत्यु भएको छ भने मकवानपुरमा गाडीको ठक्करबाट २४ वर्षीय पवन कुमार शाहको पनि मृत्यु भएको छ। यस्तै रामेछापमा सवारी दुर्घटनामा परी एक प्रहरी सहायक निरीक्षक (असई) र मतदान अधिकृतको समेत ज्यान गएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका ११ जना निर्वाचन प्रहरी र एक जना असईको मृत्यु भएको छ। यसै कारणले पनि जिल्लाका विभिन्न मतदान केन्द्रमा निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी र कर्मचारीको सुरक्षा व्यवस्थाप्रति चिन्ता बढाएको हो।








प्रतिक्रिया दिनुहोस