
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -२३ चैत ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया)लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको निर्देशन अनुसार देशभरका नापी तथा मालपोत कार्यालयमा परिचय खुल्ने कागजात हेरेर मात्रै प्रवेश गराउन सम्बन्धित विभागले पत्राचार गरेको बताइएको छ ।
पत्रमा विभिन्न बहानामा मालपोत र नापी कार्यलयमा बिचौलिया प्रवेश गरी महत्त्वपूर्ण कागजात र स्रेस्ताहरु हेर्ने काम भएको भन्ने गुनासो आएकाले अब परिचय खुल्ने कागजात भएका व्यक्तिलाई मात्रै कार्यालयमा प्रवेश गराउन भनिएको छ ।
त्यसैगरी कार्यालयका गोप्य र संवेदनशील कागजातहरूमा बिचौलिया तथा अनधिकृत व्यक्तिहरूको अनियन्त्रित पहुँच बढेको भन्दै यस्तो कदम चालेको मन्त्रालयको भनाई छ ।
नापी तथा मालपोत कार्यलयका विभिन्न फाँटहरूमा हुने भिडभाड र कागजातको सुरक्षामा गम्भीर प्रश्न उठाउँदै अनधिकृत व्यक्ति प्रवेशमा रोक नलगाएको खण्डमा सम्वन्धित कार्यालयका प्रमुख नै जिम्मेवार रहने निर्देशन दिएको छ ।
बिचौलियालाई निषेध गरेपछि सेवाग्राहीले भने निवेदन र कागजात देखाएर सहजै सेवा पाउने छन् भनेर सोही निर्देशन पत्रमा खुलाईएको छ ।








प्रतिक्रिया दिनुहोस