आज: २०८३ बैशाख ९, बुधबार | Wed, 22, Apr, 2026

सहकारीको ऋण नतिर्नेहरूलाई तत्कालै ऋण चुक्ता गर्न सरकारको १५ दिने अल्टिमेटम

२०८३ बैशाख ९, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) १२७२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ ९ वैशाख ।

सरकारले सहकारीको ऋण लिएर तोकिएको समयमा नतिरी सम्पर्क बिहिन भएका सदस्यहरुलाई १५ दिनभित्रमा ऋण तिर्न अल्टिमेटम दिएको छ ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण लिएर नतिर्ने,ऋण तिर्न पर्ला भनेर अनेकौं बहाना बनाउने तथा सम्पर्क बिहिन अवस्थामा रहेका ऋणीहरूलाई सरकारले कडा चेतावनी दिँदै १५ दिनभित्र बक्यौता रकम बुझाउन अन्तिम समयसीमा तोकेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सञ्चालक, ऋणी सदस्य, कर्मचारी तथा जमानी सबैलाई लक्षित गर्दै यस्तो निर्देशन जारी गरेको हो। समितिका अनुसार पटक–पटक जानकारी गराउँदा पनि ऋण तथा बाँकी बक्यौता नतिरेपछि बालेन शाह नेतृत्वको सरकारको पहलमा अन्तिम मौका दिइएको हो।

तोकिएको १५ दिनभित्र साँवा, ब्याज र हर्जाना समेत नतिरेमा सम्बन्धित व्यक्तिहरूको नाम सार्वजनिक गरिने, बैंक खाता तथा सम्पत्ति रोक्का गरिने र सार्वजनिक सेवा सुविधा समेत बन्द गरिने समितिले चेतावनी दिइएको छ।

उल्लेखित कदमबाट पनि सम्वन्धित ऋणीले लिएको ऋण भुक्तानी हुन नसकेमा, ऋण(कर्जा ) लिँदा राखिएको जवानी सदस्यको बचत अवथा ऋणी स्वय्मको धितो लिलाम गरेर रकम असुली प्रक्रिया अघि बढाइने जनाइएको छ। मन्त्रालयले सुरु गरेको यस कदमले लामो समयदेखि समस्यामा रहेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न र बचतकर्ताको रकम फिर्ता प्रक्रिया तीव्र बनाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ।

यसैबीच, सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पूर्णता दिँदै अध्यक्षमा डिल्लीराज आचार्य तथा सदस्यहरूमा धादिङका नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई नियुक्त गरेको छ। मन्त्रालयले अब ऋण असुली प्रक्रिया थप कडाइका साथ अघि बढाउने र सहकारी क्षेत्र सुधारमा ध्यान केन्द्रित गर्ने जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस