
नारी बाटिका
बिबियु-नारी बाटिका संवाददाता
धादिङ- ३ जेठ ।
आजबाट अधिकमास अर्थात मलमास सुरु हुंदैछ । जहाँ पञ्चाङ्ग सूर्य र चन्द्रमा दुवैको गतिमा आधारित रहेर यो मलमास लाग्ने गर्दछ । हिन्दु सनातन धर्म र संस्कृतिमा समयको गणना अत्यन्तै वैज्ञानिक र सूक्ष्म मानिएको छ ।
जसलाई जनमासमा मलमास र आध्यात्मिक भाषामा पुरुषोत्तम मास भनिने गरिन्छ । यस वर्ष यो विशेष समय जेठ महिनामै परेको छ । सामान्यतया सौर्य र चन्द्र वर्षको बीचमा वार्षिक रूपमा रहने ११ दिनको अन्तरलाई पूर्ति गर्न र ऋतुहरूको सन्तुलन मिलाउन हरेक ३२ महिना, १६ दिन र ४ घडीको अन्तरालमा एउटा अतिरिक्त महिना थपिने गर्दछ ।
मलमासलाइ अधिकमास पनि भन्ने गरिन्छ । यो ज्योतिषीय सन्तुलन मिलाउने एक अद्भुत खगोलीय पद्धति हो । जसले हिन्दु धर्मावलम्बीको चाडपर्वहरूलाई निश्चित ऋतु र मौसममा कायम राख्न मद्दत गरेको छ ।
ज्योतिष शास्त्रका अनुसार सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्दैन, त्यस महिनालाई ‘मलिन’ वा मलमास भनिन्छ । शाश्रीय मान्यता अनुसार जब मलमास महिनाको कोही अधिपति देवता भएनन् र यसलाई ‘अशुभ’ मान्न थालियो, तब यो महिना भगवान् विष्णुको शरणमा पुग्यो । भगवान् विष्णुले यसलाई आफ्नो सर्वश्रेष्ठ नाम ‘पुरुषोत्तम’ प्रदान गरी आफैँ यसको स्वामी बनेको धर्म ग्रन्थहरुमा उल्लेख छ।
त्यसैले यसलाई पुरुषोत्तम मास भनिएको हो । सनातन धर्ममा यो महिना विशेष गरी भगवान् नारायणको उपासना, भक्ति र आत्मिक शुद्धीकरणका लागि वर्षकै सबैभन्दा उत्कृष्ट समय मानिएको छ ।
यस मलमासमा नित्य कर्म अर्थात दैनिक रूपमा गर्ने स्नान,सन्ध्यावन्दन, गायत्री जप र पितृ तर्पण जस्ता कार्यहरू हो । जुन मलमासमा पनि निरन्तर गरिन्छ । तर, काम्य कर्म भन्नाले विशेष मनोकामना सिद्धिका लागि गरिने नयाँ कार्यहरू जस्तै विवाह, व्रतबन्ध, नयाँ घरको शिलान्यास वा गृह प्रवेशलाई बुझिन्छ । जुन यस मलमासको अवधीमा वर्जित गरिएको छ ।
हिन्दु धर्ममा अधिकमासको सम्बन्ध भगवान् विष्णुको नृसिंह अवतारसँग पनि जोडिएको छ । दैत्यराज हिरण्य कशिपुले वर्षका १२ महिनाभित्र मेरो मृत्यु नहोस् भन्ने वरदान पाएका थिए । दैत्यराजको अहंकार र अत्याचारको अन्त्य गर्न भगवान् विष्णुले १२ महिना भन्दा बाहिरको १३ औँ महिना अर्थात् अधिकमासको सिर्जना गरी सोही अवधिमा नृसिंह रूप धारण गरी यसै अवधीमा हिरण्यकशिपुको वध गरेको धर्मग्रन्थमा उल्लेख छ ।
यस महिनाको धार्मिक र आध्यात्मिक महिमा अतुलनीय छ । शास्त्रले बताए अनुसार मलमासमा गरिने भजन–कीर्तन, सत्संग र भगवान् नारायणको कथा श्रवणको फल अन्य समयको तुलनामा कैयौँ गुणा बढी हुन्छ । विशेष गरी ‘ यस अवधीमा पुरुषोत्तम महात्म्य’ को पाठ र श्रवण गर्दा सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।








प्रतिक्रिया दिनुहोस