आज: २०८३ जेष्ठ १६, शनिबार | Sat, 30, May, 2026

रोकिएन वैदेशिक रोजगारीमा ठगी,भारतबाट ४५३ जनाको उद्धार गरी आफन्तको जिम्मा लगाउने तयारी

२०८३ जेष्ठ १६, शनिबार मा प्रकाशित ( १२ मिनेट अघि) ७७६ पटक पढिएको
नारी बाटिका


भैरहवा -१६ जेठ ।

वर्षौदेखी वैदेशिक रोजगारीमा ठगी गर्ने क्रम रोकिन सकेको छैन । यस्तै आकर्षक तलब तथा आम्दानीको प्रलोभन देखाएर भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा लगेर बन्धक बनाइएका ४५३ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।

नेपाल प्रहरीले विशेष अभियान संन्चालन गरी भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई शुक्रबार राति उद्धार गरी नेपाल ल्याउन सफल भएको हो । उद्धार गरिएका सबै नेपालीलाई रुपन्देही हुँदै नेपाल फर्काइएको थियो । हाल उनीहरूलाई सुरक्षित रूपमा राखी आवश्यक बिवरण संकलनको काम भइरहेको छ । साथै स्वास्थ्य अवस्था जाँचेर उनीहरुलाई आफन्तको जिम्मा लगाउने नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका अनुसार उद्धार गरिएका अधिकांश व्यक्तिहरु विभिन्न जिल्लाको रहेको बताइएको छ , ठगी गर्ने गिरोहले उनीलाई राम्रो रोजगारी, आकर्षक तलबमा विदेश पठाइदिने भन्दै प्रलोभनमा पारी भारत लगिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भारतमा लगेर उनीहरूलाई कतै हिँडडुल गर्न नदिएर निगरानीमा र मानसिक दबाबमा राखिएको पिडितहरुले बताएका छन् ।

पिडितहरुले आफूहरूलाई जबर्जस्ती नियन्त्रणमा राखिएको तथा घर फर्किन नदिइएको जानकारी नेपालस्थित आफन्त र विभिन्न निकायलाई गराएका थिए । त्यसपछि नेपाल प्रहरी, भारतीय सुरक्षा निकाय तथा दुवै देशका प्रशासनिक संयन्त्रबीच समन्वय गरी भारतीय प्रहरीको टोलीले कुशीनगर क्षेत्रमा निगरानी बढाएको थियो।

सोही क्रममा ठूलो संख्यामा नेपाली नागरिक एकै स्थानमा राखिएको पुष्टि भएपछि नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त अभियानमा पिडित नेपालीहरुलाई उद्धार गरिएको हो ।

पिडितहरुलाई बन्धक बनाएको स्थानको खोजी गरी उद्धार कार्यमा भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएका हुन् । ठगी गर्ने गिरोहले कतिपयलाई विदेश पठाइदिने, कतिपयलाई व्यापारिक अवसर उपलब्ध गराइदिने र केहीलाई धार्मिक तथा सामाजिक कार्यक्रममा सहभागी गराइने भन्दै भारत लगिएको बताइएको छ ।

प्रहरीका अनुसार उद्धार गरिएका व्यक्तिहरू महिला, पुरुष तथा विभिन्न उमेर समूहका रहेका छन् । उनीहरूलाई नेपाल ल्याए लगत्तै खानपान, आवास र आवश्यक स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ। केही व्यक्तिको शारीरिक रूपमा कमजोर देखिएको बताइएको छ ।

बन्धक बनाइएका पिडितहरूमा मानसिक तनाव देखिएकोले उनीहरुलाई मनोसामाजिक परामर्शको व्यवस्थासमेत मिलाइएको स्रोतले जनाएको छ । प्रहरीले उनीहरुका आफन्तको पहिचान र आवश्यक कागजी प्रक्रियापछि परिवारको जिम्मा लगाइने तयारी भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस