
बिबियु,नारी वाटिका डटकम
धादिङ १३ भदौ ।
धादिङ प्रहरीले बाढीले बगाएर ल्याएको भन्दै सेफ फेला पारी तोडफोड गरेर नगद पैसा निकाल्ने २९ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी एव् डिएसपी प्रकाश दाहालका अनुसार गल्छी गाउँपालिका–४ बेल्खु खोलास्थित त्रिशूली नदी किनारमा सेफ फेला परेका स्थानीय व्यक्तिहरुले सेफ तोडफोड गरी भित्र रहेको नगद रकम निकालेको भन्ने प्रहरीले सूचना पाएपछि अनुसन्धान अघि बढाएको थियो।
घटनामा संलग्न रहेको आशंकामा २९ जनालाई नियन्त्रणमा लिएको छ भने पक्राउ परेकाहरुको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरिएको सुचना अधिकारी दाहालले बताउनु भयो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा नियन्त्रणमा लिइएका व्यक्तिहरू धादिङका विभिन्न स्थानका बासिन्दा रहेका र उनीहरूमध्ये गल्छी गाउँपालिका–४ मासटारका पवन पौडेल सहित विभिन्न उमेर समूहका व्यक्तिहरू रहेको बताइएको छ ।
यस्तै प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरु गजुरी गाउँपालिका, सिद्धलेक गाउँपालिकाका स्थानीय तथा चितवन र पर्सा जिल्ला घर भएका व्यक्तिहरु समेत रहेको बताएको छ। प्रहरीले बाढीले बगाएर ल्याएको भनिएको सेफमा यति ठूलो परिणाममा रकम कसरी आइपुग्यो भन्ने विषयमा अनुसन्धान थालिएको जनाएको छ । ।
बरामद गरिएको रकम वास्तविक स्रोत र घटनामा संलग्न अन्य व्यक्तिहरु,घटनासंग सम्बन्धित सेफ तथा अन्य प्रमाण समेत संकलन गरी नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस