
बिबियु,नारी वाटिका डटकम
धादिङ- १६ भदौ ।
चीनबाट भोटेकोशी नदी हुँदै आएको त्रिशूलीको भीषण बाढीले पुरेको अवस्थामा नुवाकोटको विदुर नगरपालिका १०,बेत्रावतीमा एकै घरभित्र २२ वटा शव फेला परेको छ ।
नेपाली सेना,नेपाल प्रहरीलगायतका सुरक्षाका टोलिले बेपत्ताहरुको खोजीका क्रममा बाढीको लेदोले थिचिएको अवस्थामा २२ जनाको शव फेला परेको जानकारी दिएको छ । घटनाको छैटौं दिनमा आइपुग्दा यस्तो हृदयविदारक घटना सार्वजनिक भएको हो । खोजी तथा उद्धारका क्रममा सोमबार सुरक्षाकर्मीले उक्त घरभित्र एकै ठाउँमा २२ वटा शव फेला पारेको थियो।
उद्धारमा खटिएका टोलीले लेदो पन्छाएर ६ वटा शव बाहिर निकालेको थियो भने बाँकी १६ वटा शव आज बिहान निकाल्ने प्रयास भैरहेको छ। भदौ १० गते आएको बिनाशकारी बाढीबाट ज्यान जोगाउनाका लागी उनीहरू त्यस घरभित्र सुरक्षित स्थान मानेर बसेको हुन सक्ने अनुमान गरिएको छ।
घटना घटेको तत्कालै उद्धार गर्न सकिएको भए सायद उनीहरु जिबितै भेटिन्थे होला । तर घटना घटेको ६ दिनसम्म भारी हिलो र लेदोले पुरिएका कारण ति घरभित्र फेला पारिएका सबै व्यक्तिहरुको मृत अवस्थामा शवहरु फेला परेको हो । साथै भेटिएका सबैको पहिचान गर्नै नसकिने अवस्थामा रहेको उद्धार टोलिको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख उपरीक्षक विपिन रेग्मीका अनुसार उक्त घरभित्र ठूलो संख्यामा मानवीय क्षति भएको पुष्टि गरिएको बताउनु भयो । उपरीक्षक रेग्मीले भन्नु भयो निकै कठिन परिस्थितिका बीच केही शव निकालिएको र बाँकी शव अहिले बिहानैदेखि निकाल्ने काम पुनः सुरु गरिने जानकारी दिनु भयो।
यता स्थानीयले भने सरकारी पक्षबाट उद्धारमा ढिलाइ भएको कारण सबैले ज्यान गुमाउनु भरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उक्त घरभित्र मानिसहरू थिचिएको आशंकामा तत्काल खोजी तथा उद्धारका लागि प्रमुख जिल्ला अधिकारीदेखि प्रधानमन्त्रीसम्म स्थानीले समय मै ध्यानाकर्षण समेत गराउँदा पनि सरकारपषबाट समयमै सुनुवाइ हुन नसकेको बताएका छन् ।
चिनको तिव्वतबाट रसुवा भोटेकोशी नदी हुदै त्रिशुलीमा आएको विनाशकारी बाढीले बेत्रावती बजार क्षेत्रलाई पूर्ण रूपमा बगाएर तहसनहस मात्रै बनाएको छैन।
उक्त स्थानमा बसोबास गर्ने हजारौंको संख्यामा रहेका स्थानीयदेखी बाहिरीबाट घुम्न तथा भदौ १२ मा पर्ने जनैपुर्णिमाका दिन गोसाईँकुण्डको दर्शनका लागी गएका धादिङ निलकण्ठ नगरपालिकाका २९ जना दयाराम लम्सालका टोलीसहित सयौंको संख्यामा मानिसहरु बेपत्ता रहेका छन् ।












प्रतिक्रिया दिनुहोस