आज:  | Tue, 30, Apr, 2024

चितवन क्षेत्र नं २ केन्द्रको एक मतदान स्थलमा मतदान कार्य स्थगित

१० बैशाख २०८०, आईतवार १४:१० मा प्रकाशित ( १ साल अघि) ३१२ पाठक संख्या
नारी बाटिका


नारी वाटिका संवाददाता
वैशाख १० आइतवार ।

चितवन क्षेत्र नं २ उपनिर्वाचनको मतदान केन्द्रको एक मतदान स्थलमा मतदान कार्य स्थगित भएको छ । मतदान स्थलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै मतदान प्रक्रिया स्थगित भएको हो । भरतपुर महानगरपालिका–११ नयाँ किरण माविमा मतदान स्थगित भएको हो ।

उक्त मतदान स्थलमा अन्य दलका नेता कार्यकर्ताले विरोध जनाए सँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित भएको हो । यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो । अहिले मतदान स्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिनु भयो ।

मतदान स्थलमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नाराबाजी गरे सँगै आचार संहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन् । त्यस्तै अहिले उक्त मतदान स्थलमा सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो, “बैठकको तयारी भइरहेको छ, जटिल समस्या नभएकाले बैठक पछि मतदान सुरु हुन्छ ।” यसैबीच आज जारी उपनिर्वाचनका क्रममा अहिले १२ बजेसम्म ३७ प्रतिशत मत खसेको आचार्यले बताउनु भयो । आज बिहान ७ बजेबाट मतदान जारी छ । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गर्नै कार्य जारी रहेको छ ।

आज बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य साँझ ५ बजे सम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ ।

यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । त्यस मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रो लिङ्गी रहेका छन् । साथै यस क्षेत्रमा लोकतान्त्रिक–बाम गठबन्धनबाट नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ, नेकपा एमाले बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछाने सँगै २२ उम्मेदवार चुनावी मैदानमा हुनु हुन्छ ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले सांसद पदच्युत गरेपछि उपनिर्वाचन हुन लागेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस