
नारी बाटिका
काठमाडौं,२६ साउन ।
वेदेशिक रोजगारीको लागी धन कमाउने ठुला सपना देखेर साउदी पुगी अलपत्र परेका चार नेपाली महिलाको उद्धार भएको छ । साउदीमा रहेको नेपाली दूतावासले कुवेतका कम्पनीमा काम गर्ने प्रलोभन देखाई गैरकानुनी रूपमा घरेलु कामदारका रुपमा साउदी पुर्याइएका चार नेपाली महिलाको उद्धार गरेर स्वदेश पठाएको हो ।
दूतावासले साउदीमा घरेलु काममा लगाएका विभिन्न हिंसा र दुव्र्यवहारमा परी अलपत्र परेका नेपाली महिलालाई उद्धार गरी तीन महिना दूतावासको अल्पकालीन आवासमा राखेर बुधबार स्वदेश पठाइएको जनाइएको छ ।
दूतावासका अनुसार केही समय अगाडी कम्पनीको काम लगाउने भनेर सरकारसँग श्रम स्वीकृति नै नलिई उनीहरूलाई भारत हुँदै कुवेत पुर्याइएको थियो। कुवेतमा केही महिना काम गरेपछि कुवेतका स्थानीय एजेन्टले उनीहरूलाई साउदी अरब पुर्याएर सात महिना सम्म बिना तलब घरमा काम लगाएको सूचना प्राप्त भएको थियो ।
सुचनाका आधारमा दूतावासले साउदी प्रहरीको सहयोग लिएर उद्धार गरी नेपाली दूतावास कै अल्पकालीन आवासमा राखेको थियो । दूतावासका अनुसार साउदीमा उनीहरूलाई करिब सात महिनासम्म घरमालिकले बिना तलब काम लगाएको र बिरामी हुँदासम्म उपचार नगराउने, तलब माग्दा कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको हो।
अलपत्र परेका उनीहरुलाई तीन महिनासम्म चारै जनालाई दूतावासले खाने बस्ने सुविधा सहित आवासीय सेवा दिइएको थियो। यसबिचमा दूतावासले साउदीको घरेलु श्रमिक कार्यालयसँग समन्वय गरी उनीहरूको स्वदेश फिर्तीका लागि कानुनी प्रक्रिया मिलाएर बहिर्गमन भिसा लगाएको थियो।
बहिर्गमन भिसामा उनीहरूलाई हिमालय एयरलाइन्स मार्फत दूतावासले बुधबार नेपाल फर्काएको हो। उनीहरूको टिकटको व्यवस्था भने साउदीमा रहेको प्रवासी नेपाली मञ्चले गरेको दूतावासले जानकारी दिएको छ। दूतावासले पछिल्लो समय कागजातविहीन भएर साउदीमा घरेलु काममा आउने महिलाको सङ्ख्या बढेकाले त्यसप्रति सचेत गराउन सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएको छ।








प्रतिक्रिया दिनुहोस