
नारी बाटिका
बागलुङ- १२ असोज ।
बागलुङको ढोरपाटन नगरपालिकाका फरार रहेका मेयर देवकुमार नेपाली दिल्लीबाट पक्राउ परेका छन् । मेयर नेपालीले सहकारीको बचत रकम ठगी गरेको प्रकरणमा फरार रहेका नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि इमेज सहकारी संस्थाको बचत अपचलन गरेको आरोप लाग्दै आएकोछ ।नेपालीले उक्त सहकारी संस्थाको बचत रकम एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए ।
मेयर नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई हुलाक मार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण बाइदिन आग्रह पनि गरेका थिए । मेयर नेपाली विरुद्ध सहकारीको बचत रकम हिनामिना गरेको अभियोगमा मुद्दा चलिसकेको छ ।
तर, महान्यायाधिवक्ताको कार्यालयले बैंकिङ कसुर र सहकारी ऐन अन्तर्गतका मुद्दामा ऋण तिरेको खण्डमा मिलापत्र गर्न सकिने व्यवस्था गरेसँगै उनी पक्राउ परेका हुन् । मेयर नेपालीले आफूसँग भएको सम्पत्ति बेचविखन गरेर ऋण तिर्न सक्ने बताएका छन् । उनले आफूसँग ४४ ठाउँमा घरजग्गा रहेको विवरण सार्वजनिक गरेका थिए ।
केही महिनाअघि सामाजिक सञ्जाल मार्फत मेयर नेपालीले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू र आफ्नो श्रीमतीको नाममा भएको सम्पत्ति बेचेर सबै बचतकर्ताको ऋण तिर्ने बताएका थिए ।








प्रतिक्रिया दिनुहोस