
नारी बाटिका
काठमाडौँ १५ कार्तिक ।
गोकर्णेश्वर नगरपालिका(४ माकलबारीमा रहेको गोकर्ण बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको साढे २ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको खुलेको छ ।
सहकारीका अध्यक्ष ३७ वर्षीय रोशनबाबु श्रेष्ठलाई प्रहरी वृत्त बौद्धले पक्राउ गरेको थियो । श्रेष्ठमाथि अनुसन्धान गर्दा ८९ बचतकर्ताको २ करोड ५६ लाख ५ हजार ८ सय ४६ रुपैयाँ ठगी गरेको खुलेको हो ।
यससंगै उक्त सहकारीमा साढे २ करोडभन्दा बढी रकम ठगी गरेको खुलेपछि सोही अनुसार बिगो माग दाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरी वृत्त बौद्धले बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार अदालतमा ठगी मुद्दा दायर गरेको जनाएको छ ।
बिहीबार दायर गरेको मुद्दा आजदेखि तिहारको सार्वजनिक बिदा भएकाले तिहारपछि मात्रै सुनुवाइ हुने भएको सहायक जिल्ला न्यायाधिवक्ता प्रकाश ज्ञवालीले बताउनु भएको छ ।
सोही सहकारीका अध्यक्ष श्रेष्ठसहित सात जनाविरुद्ध मुद्दा दायर भएको छ । जसमा श्रेष्ठका साथै सहकारीका उपाध्यक्ष ४७ वर्षीया रेनुका श्रेष्ठ, सचिव ३५ वर्षीय महेश्वरी अधिकारी, कोषाध्यक्ष ४१ वर्षीय हिमाल काफ्ले, सदस्य ३३ वर्षीय जीतबहादुर थापा, सदस्य ३८ वर्षीय पूर्णकुमार श्रेष्ठ र अर्का सदस्य ४६ वर्षीय राजु नेपाली विरुद्ध मुद्दा दायर भएको हो ।
अध्यक्ष श्रेष्ठ मात्रै पक्राउ परेको र मुद्दा दायर भएकामध्ये बाँकी ६ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । बचतकर्ताले जम्मा गरेको रकम फिर्ता गर्न पटक(पटक ताकेता गर्दा समेत सुनुवाइ नभएपछि पीडित बचतकर्ता प्रहरीकोमा गएको बताईएको छ । पक्राउ परेका अध्यक्षले भने लकडाउनका कारण सहकारीमा समस्या आउँदा रकम फिर्ता गर्न नसकिएको बयान दिएका छन् ।








प्रतिक्रिया दिनुहोस