
नारी बाटिका
काठमाडौँ २१ मंसिर।
प्यालेष्टिनी लडाकु समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको नेपालका लागि इजरायलका नवनियुक्त राजदूत श्मुलिक एरी बासले बताएका छन् । उनले बिहीबार पत्रकार सम्मेलन गरी आफूले अरब स्रोतबाट जोशी जीवितै रहेको जानकारी पाएको बताएका हुन् ।
उनले भने–‘जोशी जीवितै छन् भन्ने सम्म चाहिँ मैले अरब स्रोतबाट थाह पाएको छु । तर कुन अवस्थामा कहाँ राखिएको छ भन्नेबारे भने कुनै जानकारी छैन ।’
यस्तै उनले विपिन जोशी छिट्टै रिहा भएर घर फर्कने आशा व्यक्त गर्दै भने– ‘अपहरणमा परेकामध्ये अहिलेसम्म एक सय ५४ जना फर्काइ सकिएको छ । तीमध्ये केही रिहा गरिएका हुन् भने केहीको उद्धार गरिएको छ । बाँकी एक सय एक जना बन्धकहरुलाई पनि फर्काइने प्रयास जारी छ । तीमध्ये एक जोशी पनि पर्ने छन् भन्ने हाम्रो विश्वास छ ।
इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रममा गएका १७ नेपाली विद्यार्थीहरुमध्ये गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आतंककारी आक्रमणमा परी १० जनाको मृत्यु भइसकेकोछ भने ६ जना घाइते र एक जना जोशी अपहरणमा परेका छन् ।
यस्तै छलफलको क्रममा उनले इरान समर्थित लेबनानी सशस्त्र समूह हिजबुल्लाह र इजरायलबीच गत २७ नोभेम्बरमा युद्धविराम सम्झौता भएको भएता पनि आफ्नो नागरिकमाथि पुनः कुनै प्रकारको आक्रमण भएमा इजरायलले प्रतिकार गर्ने बताए ।
यो युद्धविरामपछि हमास एक्लिएको अन्य राष्ट्रहरुले विश्लेषण गरेका छन् भने अर्को तर्फ हिजबुल्लाहले यसलाई शक्ति संचय गर्ने अवसरको रुपमा उपयोग गर्नसक्ने चर्चा पनि चलिरहेको छ ।







प्रतिक्रिया दिनुहोस