आज:  | Wed, 09, Jul, 2025

अविरल वर्षाको बाढी र पहिरोले प्रमुख राजमार्गहरु पूर्णरूपमा अवरुद्ध

२५ असार २०८२, बुधबार १२:३४ मा प्रकाशित ( १२ घण्टा अघि) १३३४ पटक पढिएको
नारी बाटिका


काठमाडौं २५ असार ।

पछिल्लो समयको अविरल वर्षाको कारण आएको बाढी र पहिरोबाट देशका अधिकांश मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीको बुधबार विहान अद्यावधिक गरेको विवरण अनुसार पूर्व–पश्चिम राजमार्गसहित विभिन्न प्रदेशका प्रमुख सडकहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् ।

त्यस्तै प्रहरीले विभिन्न प्रदेशका सडकको अवस्था बारे दिएको जानकारी अनुसार लुम्बिनी प्रदेश, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को दाउन्ने सडक पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । देशको मुख्य सडकको रुपमा लिने गरेको दाउनने स्थित राजमार्ग बन्द हुँदा लामो दूरीका सवारीसाधनहरु समस्यामा परेका छन् ।

कोशी प्रदेशको कोशी राजमार्ग (सङ्खुवासभा) र मेची राजमार्ग (पाँचथर() बाढीको क्षति र अविरल वर्षाका कारण पूर्ण रूपमा बन्द हुन् । बागमती प्रदेश अन्तर्रगतका सडकहरु पनि पहिरो र बाढीले असर पारेको छ । कान्तिलोक पथको (मकवानपुर) र रसुवाको गोसाइँकुण्डमा नेपाल र चीन नाका जोड्ने सिमानाको पुल पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

गण्डकी प्रदेशका कालिगण्डकी करिडोरको बागलुङ खण्ड एकतर्फी सुचारु छ भने म्याग्दीको दरवाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लुम्बिनी प्रदेश गुल्मी र रोल्पामा पनि कालिगण्डकी करिडोर र शहीद राजमार्ग एकतर्फी मात्रै चलेका छन् ।

यस्तै कर्णाली प्रदेश तर्फको डोल्पा र रुकुम पश्चिमका विभिन्न स्थानमा भेरी करिडोर र अन्य सडकहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सुदूरपश्चिम प्रदेशका बझाङमा जयपृथ्वी राजमार्ग पनि पहिरोका कारण बन्द भएको प्रहरीले जनाएको छ । यद्यपि नेपाल प्रहरीका टोलिले अवरुद्ध बनेका सडकहरू खुलाउनका लागि सम्बन्धित निकायसँग समन्वय गरी काम गरिरहेको बताएको छ ।

प्रहरीले यात्रुहरूलाई यात्रा सुरु गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस