आज: २०८२ मंसिर ७, आईतबार | Sun, 23, Nov, 2025

अवैध विदेशी विनिमय कारोबारमा संलग्न ७६ लाख सहित पक्राउ

२०८२ श्रावण १२, सोमबार मा प्रकाशित ( ३ महिना अघि) ६१३९ पटक पढिएको
नारी बाटिका


पोखरा -१२ साउन ।

कास्की प्रहरी अवैध रूपमा विदेशी विनिमय कारोबारमा संलग्न भएको अभियोगमा तीनजनालाई ७६ लाख रुपैयाँ सहित पक्राउ गरेको छ।

आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित पत्रकार सम्मेलन गरी कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले अमेरिकी डलर, युरो र नेपाली रुपैयाँ गरी नेपाली ७५ लाख ९६ हजार नौ सय रुपैयाँ बराबरका नोट बरामद गरिएको जानकारी दिनु भयो ।

पक्राउ परेकाहरूमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ हाटबजार घर भई रूपन्देही र कास्कीमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आइरहेका ४५ वर्षीय महुमुद्दिन एम अहमद रहेका छन् ।

त्यसैगरी झापाको दमक नगरपालिका–४ चियादोकान घर भई पोखरा महानगरपालिका–६ बैदाममा ‘हिलारी मनी चेन्जर’ सञ्चालन गर्दै आएका राजकुमार बुढाथोकी र पोखरा महानगरपालिका–१९ पुरनचौर घर भई बैदाममा ‘सगरमाथा मनी चेन्जर’ सञ्चालन गर्दै आइरहेका ४३ वर्षीय खेमराज पौडेल रहेका कास्की प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूका साथबाट अमेरिकी डलर एक सय दरको नोट १९६ वटा, युरो पाँच सय दरको तीनवटा, युरो दुई सय दरका आठवटा, युरो एक सय दरको नोट एउटा, नेपाली रुपैयाँ एक हजार दरको नोट चार हजार ३७३ वटा र एक सय रुपैयाँ दरको नोट सात वटा बरामद गरेको छ ।

शनिवार साँझ अ. बजे पोखरा महानगर–१७ पार्दी बिरौटामा अवैध रूपमा विदेशी विनिमय कारोबार भइरहेको भन्ने सूचना गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा आएपछि प्रहरीले उनीहरूको कारोबारलाई पछ्याउँदै पक्राउ गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस