
नारी बाटिका
नारी संन्चार संवाददाता
धादिङ १३ साउन ।
आज नागको पूजा गरेर नागपञ्चमी पर्व मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन घरको मूलढोकामा नागको तस्वीर टाँसेर यस पर्व मनाउने गरिन्छ ।
आजको तिथिमा नागका विभिन्न आकृतिहरु भएका तस्वीर गुरु पुरोहितहरुको हातबाट घरमा टाँस्दा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङकोसमेत भयबाट पनि बच्न सकिने धार्मिक मान्यता छ । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ ।
त्यस्तै नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने धार्मिक मान्यता छ । प्रत्येक घरमा नाग रहेको विश्वास गरिन्छ । घरको जगमुनि बसेका नाग रिसाएमा घरको जग नै भत्कन्छ भन्ने जन विश्वासले नागको पूजा गर्ने गरिएको हो ।
आज दिनभर पञ्चमी तिथी भएकाले दिनभरी नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा नाग देवताको पूजाआजा गरी गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार चढाउने गरिन्छ ।
सनातन धर्ममा नागलाई विष्णु र शिवका रुपमा मान्ने पुज्ने गरिन्छ । सनातनदेखि हाम्रो समाजमा जुन घरमा नागको पूजा हुन्छ, त्यस घरमा लक्ष्मीको पनि वास हुन्छ भन्ने मान्यता छ ।
यसैगरी नागले दूषित हावालाई निलेर वातावरण सन्तुलन गर्न पनि नागको विशेष महत्वपूर्ण भूमिका खेलेको विज्ञानले पुष्टि गरेको छ ।








प्रतिक्रिया दिनुहोस