
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं -२५ साउन ।
उपत्यकासहित आज देशका विभिन्न क्षेत्रका विशेषगरी नेवार समुदायले गाईजात्रा पर्व मनाइँदैछ। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन अर्थात जनै पुर्णिमाका भोलिपल्ट गाईजात्रा पर्व मनाउने गरिन्छ ।
ऐतिहासिक विस्वास अनुसार पुत्र वियोगले शोकाकुल भएकी आफ्नी रानीलाई सान्त्वना दिन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ(आफ्नो घरमा एक वर्षभित्र मरेका व्यक्तिका नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। तर, यसले पनि रानीको मन शान्त बनाउन नसकेपछि विभिन्न खालका व्यङ्यात्मक कार्यक्रम पनि गर्न आदेश दिएका थिए। सोही आदेश अनुसार शुरु भएको गाईजात्रा अहिले पनि मनाईँदैआइरहेको छ।
गाईजात्राको अवसरमा आज पाटनमा देखाइने सत्य युगको धान,चामलको नमूना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छ। गाईजात्राको दिन एक वर्षभित्र दिवङ्गत भएका आफ्ना परिवारका सदस्यको सम्झनामा नाचगान तथा रामायणको करुण रसका गीतहरु गाउँदै, गाई वा मानिसलाई गाईको रुपमा सिँगारी नगर परिक्रमा गराउने र उनीहरुलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्य अन्न र पैसा दान गर्ने परम्परा रहेको छ।
आज दिनभर मानिसलाई गाईको स्वरूप बनाएर बजार परिक्रमा गराउने प्रचलन छ। यस्तो गर्नाले वर्षभरी मृत्यु भएका आफ्ना आफन्तहरु गाईको पुच्छर समाई वैतर्णी पार गर्छन् भन्ने धार्मिक जनविश्वास छ। भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्परा अनुसार भैरवको परालबाट निर्मित गाई (रथ) नगर परिक्रमा गराई आजकै दिन विसर्जन गरिने प्रचलन रहेको छ।
पछिल्लो समयमा भने आज गाईजात्राको दिन समाजमा भएका विद्यमान विकृति र विसङ्गती तथा राजनितिक क्षेत्रभित्र हुने विकृति,नेताहरुको आचरण,देशमा हुने गरिएका भ्रष्ट्रचार लगायतका विषयलाई व्यङ्ग्यात्मक ढङ्गले उजागर गर्ने सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यका लगायत बनेपा, धुलिखेल, त्रिशूली, धादिङ,दोलखा, खोटाङ, भोजपुर, लगायतका जिल्लामा मनाउने गन्छि ।








प्रतिक्रिया दिनुहोस