आज: २०८२ आश्विन ६, सोमबार | Mon, 22, Sep, 2025

पाँचजना मन्त्रीमा सिफारिस,सञ्चारमन्त्रीमा जगदीश खरेल

२०८२ आश्विन ६, सोमबार मा प्रकाशित ( ३ घण्टा अघि) ८३८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौँ -६ असोज ।

प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न प्रबुद्ध सामाजिक व्यक्तित्वलाई मन्त्रीमा नियुक्तिका लागि सिफारिस गर्नु भएको छ । प्रम कार्काीले आइतबार पाँचजनालाई मन्त्रीमा सिफारिस गर्दै नियुक्ति र शपथका लागि राष्ट्रपति समक्ष पेश गर्नु भएको छ । राष्ट्रपति कार्यालयले आजै (सोमबार) उहाँहरुलाई नियुक्ति र शपथ गराउने तयारी छ ।

जसअनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा वरिष्ठ युवा पत्रकार जगदीश खरेलको नाम सिफारिस गर्नु भएको हो । पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख रहनु भएको थियो । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहनु भएका खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गर्नु भएको छ ।

यसैगरी प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्रीमा सिफारिस गर्नु भएको छ । उहाँलाई कानुन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै डा.संगीता मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस गरिएको छ । स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहनु भएकी मिश्राले आइतबार बिहान मात्रै सो पदबाट राजीनामा दिनु भएको थियो । यसैगरी कृषि मन्त्रीमा मदन परियारलाई नियुक्तिको लागि सिफारिस गर्नु भएको छ ।

साथै नेपाली वैज्ञानिकका रुपमा काम गर्दै आउनु भएका महावीर पुनलाई पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरिएको छ । पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुनुहुन्छ । नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पु¥याउने पहलका लागि उहाँले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरीसक्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस