आज: २०८२ आश्विन १६, बिहिबार | Thu, 02, Oct, 2025

नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

२०८२ आश्विन १५, बुधबार मा प्रकाशित ( १ दिन अघि) २३२६ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता

धादिङ- १५ असोज ।

आज नवरात्रको अन्तिम दिन दसैँघर वा पूजा कोठामा स्थापना गरिएको नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

हरेक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरी वैदिक सनातनी परम्परा छ । मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिएको हो । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी भगवती पनि भनिन्छ ।

यिनी नवदुर्गा मध्यकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् । सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ । दुर्गा देवीका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनु भएको थियो। नवदुर्गाको नाम मात्रै स्मरण गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग मुक्ती पाउने विश्वास छ ।

यस वर्ष नवरात्रको पहिलो दिन असोज ६ गते दसैँघर वा नेपालीका घर घरका पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ,मकै गहुँ लगायतको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्री,दोस्रो दिन ब्रह्मचारिणी,तेस्रो दिन चन्द्रघण्टा,चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो ।

यस वर्षमा चौथी तिथि वृद्धि भएर दुवै दिनको सूर्योदयकालमा चौथी परेकाले दुवै दिन कुष्माण्डा देवीको पूजाआराधना गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनु भयो ।

यसैगरी पाँचौँ दिन स्कन्दमाता सातौँ दिन छैटौँ देवी कात्यायनी देवी,आठौँ दिनमा सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजाआराधना गरियो । साथै आज नवरात्रको नवौँ दिन असोज १४ गते मङगलबार आश्विन शुक्ल अष्टमीमा महागौरी देवीको पूजाआराधना गरियो । आज नवरात्रको अन्तिम दिन आश्विन शुक्ल नवमीमा सिद्धिदात्री देवीको पनि विशेष पूजा आराधना गरी मनाईँदै छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागव तलगायत देवी स्तोत्र पाठ गरी पुजा गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पुजा आराधना गर्छन् ।

साथै नौ दिनसम्म पूजा आराधना गरेको जल, प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष असोज १६ गते बिहीबार विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि शुभ साइतका लागि भने असोज १६ गते बिहान ११ः५३ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चांग समितिले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस