आज: २०८२ आश्विन २८, मंगलबार | Tue, 14, Oct, 2025

तिहारमा भारतीय सयपत्री फूल आयातमा प्रतिबन्ध लगाईयो 

२०८२ आश्विन २८, मंगलबार मा प्रकाशित ( ७ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ – २८ असोज ।

तिहारमा भारतीय सयपत्री फूल भित्रन सक्ने भन्दै काठमाडौं महानगरपालिकाले अनुगमन गर्ने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल र कामपा का प्रहरी टोलीले मंगलबारबाट अनुगमन गर्न थालिको हो ।

कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भारतीय बजारबाट नेपाली बजारमा तिहारका लागी फूल आयात हुनसक्ने सबै कोल्डस्टोरमा अनुगमन गर्ने जानकारी दिएका छन् । एसोसियसन र कामपा प्रहरी टोलीले संयुक्त रूपमा अनुगमन गर्ने भएको हो । कामपाले नेपाली किसानलाई प्रोत्साहन गर्न तिहारमा नेपाली फूलमात्र बिक्री गर्ने व्यवस्था मिलाएको जानकारी दिए।

एसोसिएसन र कामपा प्रहरीले राजधानीका ३२ स्थानमा कात्र्तिक १ देखी तिहारका लागी फूलमाला बिक्री गर्न लागेको हो । आयातीत र प्लास्टिक जन्य फूलमालाको प्रयोगलाई पूर्ण रूपमा निषेध गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन महानगरपालिकाले विगत तीन वर्षदेखि तिहारको समयमा स्वदेशी फूलको प्रवर्धनका लागि बिक्री स्थल व्यवस्थापन गर्दै आएको छ ।

आयातीत र प्लास्टिकजन्य फूलमालालाई पूर्ण रूपमा निषेध गर्दै नेपाली किसानले उत्पादन गरेका फूलहरूलाई प्रोत्साहन र प्राथमिकता दिन तीन वर्षदेखि स्वदेशी फूलमात्र बिक्री गर्न थालेको हो । गत वर्षमा जस्तै यस वर्ष पनि किसानलाई बजारमा सहज पहुँच प्रदान गर्न, ढुवानीमा सहयोग गर्न र अवैध माला बिक्री गर्नेहरूमाथि कारबाही गर्न कामपाले अनुगमन टोली गठन गरेको छ । नेपाल चेम्बर अफ कमर्स र फ्लोरिकल्चर एसोसिएसन नेपालसँगको सहकार्यमा कोल्ड स्टोर र बजार क्षेत्रको अनुगमन पनि गर्नेछ ।

कामपाका मेयर बालेन्द्र साहले नेपाल सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भइसकेको अवस्थामा तिहारमा स्वदेशी फूलको प्रयोग गर्न आग्रह गरेका छन् । साथै महानगरको यो निर्णयले नेपाली किसान र उपभोक्ता दुवैलाई खुसी बनाउने विश्वास व्यक्त गरे ।

विगतको तथ्यांक अनुसार तिहारमा मात्रै करिब ४० लाख माला खपत हुन्छ, जसमध्ये ३५ लाख माला आन्तरिक उत्पादनबाट आपूर्ति गरिएको छ भने बाँकी ५ लाख माला गाउँघर मै उत्पादन भएका क्षेत्रबाट आपूर्ति हुने अनुमान छ । मूल्यको हिसाबले सयपत्री मालाको मूल्य करिब १३० रुपियाँ र मखमली मालाको मूल्य ६०÷६५ रुपियाँसम्म पर्ने अनुमान छ । सोभन्दा बढी मूल्यमा बिक्री भएमा महानगरले अनुगमन गर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस