आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

विदेशमा बस्नेलाई मतदानको व्यवस्था गर्न नसकिने आयोगको स्पष्टोक्ति

२०८२ मंसिर १६, मंगलबार मा प्रकाशित ( २ महिना अघि) ७१९३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१६ मंसिर ।

निर्वाचन आयोगले समय अभावका कारण विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न नसकिने स्पष्ट पारेको छ ।

आयोगको यो भनाइले विदेशमा रहेकालाई मतदान गराउने सरकारी तयारी पनि अलपत्र पर्न सक्ने देखिएको छ । सरकारले तोकेको निर्वाचनको ९१ दिन मात्रै रहेकाले विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था गर्न कुनै हालतमा पनि नसकिने आयोगले स्पष्ट पारेको हो ।

आयोगका कार्यबाहक आयुक्त रामप्रसाद भण्डारीले समय अभावका कारण विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्थापन गर्न नसकिने जानकारी सरकारलाई दिनु भएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकारसँग आइतबार भएको छलफलका क्रममा कार्यबाहक आयक्त भण्डारीले समय अभाव र दलीय सहमति जुटाउन सक्ने अवस्था नरहेको उल्लेख गर्दै उक्त जानकारी गराउनु भएको थियो ।

प्रधानमन्त्री कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल आइतबार प्रमुख आयुक्त भण्डारीलाई भेट्न निर्वाचन आयोग पुग्नु भएको थियो । सोही क्रममा आयुक्त भण्डारीले अब विदेशमा बस्नेहरूको लागि मतदानको व्यवस्था गर्न नसकिने जवाफ दिनु भएको आयोगले जनाएको छ ।

सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउने गरी अध्यादेश जारी गर्ने तयारी गरिए पनि अब त्यस सम्बन्धमा कुनै तयारी गर्न सक्ने समय नरहेको आयोग स्रोतको भनाइ छ ।

कानुन मन्त्रालयले आइतबार नै विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन कानुनी जटिलता फुकाउने गरी तयार पारिएको अध्यादेश गृह मन्त्रालयमा पठाएको छ । गृह मन्त्रालयले यो अध्यादेश मन्त्रिपरिषद्मा लैजाने तयारी पनि गरिरहेको अवस्था थियो ।

गृह मन्त्रालय स्रोतका अनुसार विदेशबाट मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको विषय समेटेर तयार पारिएको प्रस्तावित अध्यादेशमा निर्वाचन आयोगसँगको समन्वयमा सरकारले निर्णय गर्ने भनिएको छ ।

तर अब निर्वाचनको समय नजिकिँदै गैरहेको अवस्था छ । यस विषयमा तयारी गर्न समय नपुग्ने भएकोले आयोगले नसकिने छ । सोही कारण सरकार समेत अन्यौलमा पर्ने देखिएको छ । यही बहानामा निर्वाचन सर्ने त होइन भन्ने आशंका समेत रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस