आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

नागढुंगा नौबिसे सडक मंसिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म  दैनिक पाँच घण्टा बन्द हुने

२०८२ मंसिर २२, सोमबार मा प्रकाशित ( २ महिना अघि) ३४४२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारीवाटिका संवाददाता
धादिङ २२ मंसिर ।

नागढुंगा नौबिसे मलेखु सडक खण्डमा निर्माणको काम सुस्त भएकोले सरकारले दैनिक पाँचघण्टा सडक बन्द गरेर निर्माण कार्यलाई तिब्रगति दिने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवालालाई केही दिनअघि जानकारी गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो। निर्माण व्यवसायी र सम्बन्धित कम्पनिले कामलाई गति दिनमा सवारीसाधन निरन्तर आवतजावत भैरहँदा सडक निर्माण कार्यमा समस्या भएको बताएका थिए।

ट्राफिक व्यवस्थापन गरी सडक निर्माणलाई तिब्र बनाउन यही मंसिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले संयुक्त रुपमा सडक बन्द हुने सूचना जारी गरी सो को जानकारी गराई सकेका छन्।

त्रिभुवन राजपथको नागढुंगा नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ। सोही क्रममा उक्त सडकको काठमाडौं जिल्ला भित्र पर्ने नागढुंगा पिप्लामोड खण्ड कालोपत्रे गर्ने कामलाई उच्च प्राथमिकताका राखिएको छ।

सो सडकखण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्रका लागि एकै पटकमा धेरै गह्रौं उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुन्छ। यसैगरी धादिङको गल्छी(गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडासमेत बढाउनु पर्ने निर्माण कम्पनिले जनाएको छ।

यस कार्यका लागी नागढुंगा देखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा यही मंसिर २४ देखि आगामी पुस १ गतेसम्म बिहान १०ः३० बजेदेखि अपराह्न ३ः३० सम्म सडक आवागमन बन्द हुनेछ। सो समयमा वैकल्पिक सडक प्रयोग गर्न भन्दापनि अगाडी वा पछाडि व्यवस्थापन गर्न सूचनामा आग्रह गरिएको छ।

यस समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुङ्गा चेकपोस्टमा रोकिनेछ भने अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षाका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ।

त्यसैगरी मुग्लिङबाट काठमाडौँ तर्फ जाने सवारीहरु खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे),गल्छी(गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिने बताईएका छ।

साना तथा मझौला सवारीले अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन्। सूचना अनुसार सीतापाईला भिमढुङ्गा,रामकोट धार्के सडक, सामाखुसी टोखा–छहरे सडक वैकल्पिक रुपमा प्रयोग गर्न सकिने छ।

रोकिएका सबै सवारीसाधनलाई अपराह्न ३ः३० बजेपछि मात्र छाडिने सूचनामा उल्लेख गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस