
नारी बाटिका
नारी वाटिका संवाददाता
सङ्खुवासभा -२८ मंसिर।
सङ्खुवासभाको मादी नगरपालिकाका एक पुरुषले पत्नीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।
मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पाले आफ्नी श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनु भयो।
गत मंसिर ९ गते राति अ. १०ः३० बजेतिर ३७ वर्षीया श्रीमती मीना शेर्पा बाटोको हत्या गरी शव गाडेको घटनामा प्रेमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मंसिर ९ गते मादी नगरपालिका–४ ओखरबोटे बजारबाट घर फर्कने क्रममा श्रीमती बाटोबाटै बेपत्ता भएको भन्दै प्रेमले प्रहरीचौकी मादीमा उजुरी गर्न गएका थिए।
खोजतलास तथा सोधपुछ गर्ने क्रममा प्रहरीले लोग्ने प्रेममाथि शङ्का गर्दै पधmाउ गरी अनुसन्धान अघि बढाएको थियो । पत्नीको हत्यामा उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो। शेर्पालाई पक्राउ गरेपछि श्रीमतीको हत्या गरेको खुलेको हो। उनलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार गत मंसिर ९ गते ओखरबोटे बजारबाट घर फर्कने क्रममा प्रेम र उनकी पत्नी मीनाबीच सामान्य विवाद भएको थियो। बाटोमै विवाद बढ्दै जाँदा कुटपिट गरी पत्नीको हत्या गरेको दोर्चीले स्वीकार गरेका हुन्।
दोर्जीले श्रीमतीको हत्या गरी सोही रात मादी नगरपालिका–३ स्थित आफ्नै अलैँचीबारीमा खाडल खनी त्रिपालमा बेरेर शव गाडेको बयान प्रहरीसमक्ष दिएका छन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया दिनुहोस