आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु

२०८२ पौष १७, बिहिबार मा प्रकाशित ( १ महिना अघि) ९३१ पटक पढिएको
नारी बाटिका


घटनापछी आक्रोशित स्थानीयद्वारा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध।

नारी वाटिका संवाददाता

विराटनगर १७ पुस ।

सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु भएपछि सो क्षेत्रमा तनावग्रस्थ बनेको छ ।

घटनापछी आक्रोशित स्थानीय भिडले पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । यस्तै स्थानीयहरु आक्रोशित बनेपछीउनीहरुले सशस्त्र प्रहरीको अस्थायी बिटमासमेत आगजनी गरेका हुन् ।

आज बिहान करिब १ बजे सुनसरीको कोशी गाउँपालिका १ मा घटना भएको थियो । तर सशस्त्र प्रहरी बलको सुरक्षा टोली भने तस्करी नियन्त्रणका लागि खटिएका थिए । सोही टेलिले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार साह भारतबाट चिनी, सर्फ र सुर्ती लगायतका सामग्री लिएर नेपाल फर्कँदै गर्दाको अवस्थामा घर नजिकै पुगेका बेला सशस्त्र प्रहरीले उनलाई रोक्न खोज्दा गोली लागेको थियो । साहलाई दुई राउण्ड गोली लागेको र गम्भीर घाइते अवस्थामा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

सोही घटनापछी तनावग्रस्थ बनेको राजमार्गमा प्रदर्शनकारीले सडक मै मृतकको शव राखेर यातायात ठप्प पारेका छन् । अहिले आक्रोशित बनेका स्थानीय प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरी प्रदर्शन गरेका छन् । शव नै सडकमा राखेर उनीहरु नाराबाजी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिरहेका छन् ।

अहिलेसम्म स्थानीयले गरेको प्रदर्शनका कारण सो खण्डमा ठूला सवारीसाधन पूर्ण रूपमा ठप्प भएका छन् भने मोटरसाइकल बाहेक अन्य सवारी साधन चल्न दिएका छैनन्,

अहिले उक्त क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षाको अवस्था संवेदनशील रहेकाले थप सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

घटनापछि बिहीबार बिहान प्रहरी प्रशासन र स्थानीयबीच वार्ता भएतापनि सहमति भने जुट्न नसकेपछि प्रदर्शन जारी रहेको प्रहरीले जनाएको छ । स्थानीयले गोली चलाउने सशस्त्र प्रहरीमाथि तत्काल कारबाही गरी पीडित परिवारलाई क्षतिपूर्ति र निष्पक्ष छानबिन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

घटनाले स्थिति तनावग्रस्त बन्दै गएपछि प्रशासनले थप सुरक्षा सतर्कता अपनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस