
नारी बाटिका
एजेन्सी ।
भारतको हिमाचल प्रदेशमा भएको ग्याँस विस्फोडमा परी एकै गाउँका नौ जना नेपालीको ज्यान गएको छ ।
सोमवार राति उनीहरु सुतिरहेका थिए । तर कोठाभित्र राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट भई भीषण आगलागी भएको थियो ।
सोही घटनामा केही वर्षदेखी भारतमा ज्याला मजदुरी गरी बस्ने नेपालको सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका नौ जनाको ज्यान गएको हो ।
प्रत्यक्षदर्शीका अनुसार घटना निकै भयावह भएको बताइएको छ । विस्फोटसँगै फैलिएको आगोले पीडितहरू बस्दै आएका घर पूर्ण रूपमा ध्वस्त हुनुका साथै वरपरका अन्य घरहरूसमेत जलेर नष्ट भएको जनाईएको छ ।
भारतीय स्थानीय प्रशासनका अनुसार विस्फोटपछि रातभर आगो नियन्त्रणमा लिन कठिनाइ भएको थियो । विस्फोटबाट सबैभन्दा बढी क्षति एकै गाउँका दुई परिवारले बेहोर्नु परेको अवस्था छ ।
आगलागीपछी घटनास्थलमै धनबहादुर विक, उनकी श्रीमती कविता विक, छोरीहरू राधा विक र रेणुका विक र २२ महिनाका छोरा राजन विकको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।
सुतिरहेको अवस्थामा अचानक आगो फैलिँदा उहाँहरू बाहिर निस्कने मौका समेत नपाई जलेर मृत्यु भएको जनाइएको छ ।
त्यस्तै घटनामा सोही गाउँका अर्का स्थानीय काशीराम विक, उनकी श्रीमती टीका विक, छोरी अनु विक र छोरा किरण विकको पनि मृत्यु भएको हो ।
स्थानीय प्रशासनका अनुसार हालसम्म पाँच जनाको शव फेला परिसकेको छ भने बाँकी चार जनाको शव खोजी कार्य जारी छ । आगलागीका कारण घर पूर्ण रूपमा ध्वस्त भएकाले भग्नावशेष हटाएर शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी, दमकल र उद्धार टोली परिचालित छन् । एकै गाउँका नौ जनाको ज्यान गएको खबरपछि सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुरा शोकमा डुबेको छ ।
भारतीय प्रहरीद्वारा उक्त विस्फोटको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ । ग्यास चुहावट भएर विस्फोट भएको आशंका गरिए पनि वास्तविक कारण पत्ता लगाउन भारतीय प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनास्थलबाट विस्फोड भएका ग्यास सिलिन्डरका टुक्राहरु भेटिएका छन् । प्रारम्भिक अनुसन्धान सकिएपछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस