आज: २०८२ चैत्र ६, शुक्रबार | Fri, 20, Mar, 2026

आजदेखी एक महिना लामो श्रीस्वस्थानी व्रत कथा समापन गरिँदै

२०८२ माघ १८, आईतबार मा प्रकाशित ( १ महिना अघि) २१४० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -१८ माघ ।

आज माघ शुक्ल पूर्णिमाका दिन आइतबार एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ। गत महिनाको १९ पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा बाचन गरेको एकमहिने श्रीस्वस्थानी व्रत माघ माहात्म्य आज विधिपूर्वक समापन गरिन लागिएको हो।

हिन्दुधर्ममा विश्वास राख्नेहरुले पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक श्रीस्वस्थानी माताको व्रत प्रारम्भ गरी नित्य मध्याह्नकालमा पार्वती,सिद्धि विनायकसहित महादेवको पूजा गरेका भक्तजनले आज व्रत समापन गर्ने भएका हुन्।

स्वस्थानी कथामा विशेष महिमा बोकेको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई श्रीस्वस्थानी ब्रत कथाका रूपमा भन्ने,सुन्ने सुनाउने कार्य यस वर्षको लागी आजैदेखि अन्त्य गरिँदैछ।

विधिपूर्वक एकमहिने व्रत गरेका बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, सुपारी, पान, फलफुल,रोटी,अक्षता विभिन्न जातजातका फलफूलहरु धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र,भेटी तथा हातले केलाएको अक्षताले पुजा गरी व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ।

यसरी चढाइएका प्रसादहरुमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई, छोरा नभए मित छोरालाई तथा मित छोरा पनि नभएमा आफ्नो मनोकामना पुरा होस् भनी नजिकको पवित्र तिर्थस्थलमा लगी बहाउने विधि छ।

साथै सय रोटी बर्तालुले फलाहार गरी रातमा जाग्राम बस्ने र जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ। यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ। आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो।

उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई नै स्वस्थानी भनिएको हो । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । यसका लागी उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदै छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस