आज: २०८३ जेष्ठ १, शुक्रबार | Fri, 15, May, 2026

धादिङको नर्सिङधाम मन्दिरमा आजबाट नर्सिङ महायज्ञ हुंदै

२०८३ जेष्ठ १, शुक्रबार मा प्रकाशित ( २ घण्टा अघि) १२५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी बाटिका संवाददाता
धादि १ जेठ ।

धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित नर्सिङधाम मन्दिरमा आजबाट बहुप्रतीक्षित पुरुषोत्तम महामहोत्सव हुंदैछ ।

बुढीगण्डकी र नेत्रावती नदीको पवित्र संगमस्थलमा रहेको प्राचीन धार्मिकस्थल नृसिंहधाम मन्दिरमा आजबाट १ महिनासम्म नर्सिङ महायज्ञ पुजा पाठ,दान तप गर्न लागिएको नृसिंहधाम मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

प्रत्यक तीन वर्षमा आयोजना गरिने यो धार्मिक महोत्सव आजबाट सुरु भएको मलमासको अवधीभर अर्थात जेठ १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने भएको हो । महोत्सवको सम्पुर्ण तयारी पुरा भएको मूल आयोजक समितिका संयोजक फणिकान्त छत्कुलीले जानकारी दिनु भयो ।

धादिङबेसीबाट करिब एक घण्टा ४५ मिनेटको दुरीमा रहेको नृसिंहधाम मन्दिरमा बस,साना तथा ठुला गाडीहरु पुग्न सकिन्छ । गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने बुढीगण्डकी र नेत्रावती नदीको दोभान प्राचीनकालदेखि नै भगवान् नृसिंह देवताको उत्पत्तिस्थलका रूपमा परिचित रहेको जनविश्वास गरिन्छ ।

स्थानीय रूपमा बुढीगण्डकीलाई “यशोधरा” र नेत्रावतीलाई “आँखुखोला” नामले परिचित रहेको यस धामको खोजी र अनुसन्धान कार्य २०६६ साल फागुनदेखि सुरु भएको थियो । २०६७ सालमा आँपको रुखमुनि पुराण वाचन गरी त्यसबाट सङ्कलित रकमबाट मन्दिर निर्माण गरिएको थियो ।

मन्दिर निर्माणका क्रममा लिच्छवीकालीन सिक्का, इँट्टा, मूर्ति तथा अन्य पुरातात्त्विक भग्नावशेष फेला परेका थिए । त्यसपछी २०७२ सालको भूकम्पपछि मन्दिर पुनः उत्खनन गर्दा प्राचीन ढुङ्गा, इँट्टा र सिक्काहरू भेटिएपछि यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्व अझै बढेको थियो ।

त्यसपछि विभिन्न चन्दा दाताहरु, गाउँपालिकाको सहयोग तथा दर्शनार्थीहरुसंगको धार्मिक सामिप्यतामा करिब २१ करोड रुपैयाँको लागतमा नयाँ मन्दिर निर्माण गरिएको हो।
भक्तजन समेतको सहयोग तथा विभिन्न स्थानीय तहको लगानीमा गुरुकुल भवन, प्रसादी गृह,अतिथि आवास, गौशाला लगायतका भौतिक पूर्वाधार निर्माण सम्पन्न भएपछी धामलाई राष्ट्रियस्तरको धार्मिक गन्तव्यका रूपमा विकास गर्ने गुरु योजना रहेको छ ।

महायज्ञ व्यवस्थापन मुल समितिले महोत्सवको पूर्वतयारी स्वरूप २३ दिने मेची–महाकाली रथयात्रा सफलतापूर्वक सम्पन्न गरी वैशाख २६ र २७ गते नेपाल, भारत, अस्ट्रेलिया र अमेरिकाबाट आउने वैज्ञानिक तथा साधु–सन्तहरूको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलनको पनि आयोजना गरिएको थियो ।

धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित नृसिंहधाममा पुरुषोत्तम महिनामा चामलमाथि दियो बालेर गरिने संकल्प तथा पूजा–आराधनाले मनोकामना पूरा हुने जनविश्वास रहि आएको छ । महोत्सव अवधिभर भक्तजनहरूका लागि निःशुल्क भोजन प्रसादी तथा आवासको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

साथै महोत्सवमा १०८ तीर्थ यज्ञको जलप्रसादी वितरण गरिनेछ भने एक लाख लक्ष्मी–नृसिंह यन्त्र निःशुल्क वितरण गरिने आयोजकले जनाएको छ । देश–विदेशबाट आउने साधु–सन्तहरूको प्रवचनले महोत्सवलाई थप विशेष बनाउने अपेक्षा गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस