
बिबियु,नारी वाटिका डटकम
धादिङ -१५ भदौ ।
धादिङको पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । आईतबार दिउँसो धादिङको कृष्णभिरमा खतरायुक्त शैलीमा त्रिशुली कनार कै छेउदेखी सडक भासिएपछी काठमाडौँ उपत्यकाको आपूर्ति प्रणाली नै जोखिममा पर्नेे िअवस्था देखिएको हो।
हिजो दिउँसो पुनः रसुवाको भोटेकोशी नदीमा आएको बाढीको प्रभाव धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित त्रिशुली नदीमा पानीको वहाव बढेर कृष्णभीरमा सडक भासिएपछी पृथ्वी राजमार्ग फेरि अनिश्चितकालिन अवरुद्ध भएको छ । यस सडक हुंदै काठमाडौँ उपत्यका भित्रिने हजारौँ माल बाहक ट्रक तथा कन्टेनरहरु बाटोमै अलपत्र परेका छन् ।
काठमाडौँ, चितवन, पोखरा तथा समग्र पश्चिम नेपाललाई जोडेको पृथ्वी राजमार्ग अवरोध हुंदा यात्रु र मालसामानको ढुवानीसँगै पर्यटन, होटल, उद्योग, व्यापार तथा सार्वजनिक यातायात क्षेत्रलाई प्रत्यक्ष असर पु¥याएको छ ।
भरतपुर सडक विभागले यो सडक मर्मत गरी सञ्चालनमा आउन कम्तीमा पनि एक सातादेखि १० दिनसम्म लाग्ने बताएको छ । मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीका अनुसार उपत्यकामा अत्यावश्यक वस्तुको अभाव हुन नदिन साना सवारी साधन मार्फत वैकल्पिक मार्गबाट सामान ल्याउने तयारी गरिएको जानकारी दिनु भयो ।
बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका विशेषगरी यी तिन जिल्लामा ठुलो मात्रामा धन जनको क्षति पुरेयाएको छ । आईतबार दिउँसो त्रिशूली नदीमा पानीको बहाव बढ्दा पृथ्वी राजमार्गमा थप क्षति पुगेको थियो । सडकको दुवैतर्फ पहिरो खसेको छ भने सडक मर्मत सुधारका काम तत्काल नसकिने अवस्था देखिएको छ ।
आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र सम्वन्धित जिल्ला प्रशासन कार्यालयहरूले समन्वय गरी तत्कालै अन्य वैकल्पिक बाटोबाट साना सवारी साधनको प्रयोग गरी सामान ल्याउने व्यवस्था नगर्ने हो भने राजधानीका नागरिकमा विशेषगरी खाद्यान्न, चिनी र पेट्रोलियम पदार्थको आपूर्ति ठप्प हुन सक्ने सम्भावना रहेकोले सरकारले यसलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस