
बिबियु,नारी वाटिका डटकम
धादिङ -१६ भदौ ।
भोटेकोशी बाढीले रसुवा,नुवाकोट,धादिङलगायतका जिल्लामा हालसम्म १०० बस,७० माइक्रो र ३०० वटा कन्टेनरहरु बेपत्ता छन् । तर अझैपनि उक्त सवारी साधनभित्र रहेका स्टाफ तथा यातायात व्यवशायीहरु कति थिए ? कति बेपत्ता भए ? कुनै तथ्य भेटिएको छैन ।
उक्त बाढीकै कारण यति ठूलो संख्यामा सार्वजनिक तथा मालवाहक सवारीसाधन क्षतिग्रस्त तथा सम्पर्कविहीन भएको अवस्था छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेशका अध्यक्ष सुवन गिरीका अनुसार हालसम्म प्राप्त प्रारम्भिक विवरणमा उल्लेखित संख्यामा मालवाहक टिपर वा गाडी सम्पर्क विहीन अवस्थामा रहेको बताए।
महासंघले विभिन्न समितिबाट क्षतिको विवरण संकलन गरिरहेको भएपनि विपद्का कारण टेलिफोन तथा इन्टरनेटमा सम्पर्क गर्न कठिन भएको कारण घटना र क्षतिको यकिन तथ्यांक प्राप्त हुन नसकेको जनाएको छ। यद्यपि थप विवरण प्राप्त हुने क्रम भने जारी छ।
रसुवागढी नाका आसपासमा रहेका कन्टेनरमा समेत ठूलो क्षति भएको छ। करिब ३०० कन्टेनर सम्पर्क विहीन छन् भने भन्सार क्षेत्रमा रहेका, बाटोमा गुडिरहेका, पार्किङ गरिएका तथा सामान ओसारपसारका क्रममा रहेका सवारीसाधनसमेतलाई समेट्दा हालसम्म ५०० को हाराहारीमा सवारीहरुको क्षति भएको हुन सक्ने महासंघको अनुमान छ।
त्यसैगरी सोही घटनाका कारण सवारीसाधनसँगै मजदुर र व्यवसायीसमेत सम्पर्कविहीन भएको गिरीले बताए। महासंघको प्रारम्भिक तथ्यांकअनुसार करिब ५०० चालक, परिचालक तथा सवारी व्यवसायसँग आबद्ध व्यक्ति सम्पर्कविहीन अवस्थामा रहेको उनको भनाइ छ।












प्रतिक्रिया दिनुहोस