
बिबियु,नारी वाटीका डट्कम
धादिङ-२६ असोज ।
बूढीगण्डकी नदीमा आइतबार विहानै अकास्मात् आएको भीषण बाढीले उत्तरी गोरखा तथा धादिङ तर्फका समेत सयभन्दा बढी घरहरू बगेका छन्। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ स्थित उङ्गिलुङ खोलामा सुक्खा पहिरो खस्दा नदी थुनिएर एक्कासी खोलिएको र सोही बाढी आएको हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आइतबार बिहान अ. ४ बजेतिर चुमनुब्री–६ तुम्जेमा खसेको पहिरोले उङ्गिलुङ खोला थुनिएको थियो । भू -उपग्रहले लिएको तस्बिरलाई विश्लेषण गरी शनिबार साँझ नै पहिरो खसेको महाशाखाले बताएको छ।
उक्त उङ्गिलुङ खोलामा आएको बाडी बूढीगण्डकी नदीमा मिसिएर गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार चुमनुब्री गाउँपालिकाका लोक्पा, न्याकफेदी, सिर्दिबास, सल्लेरी र जगत क्षेत्र बाढीबाट ठुलो क्षति पुगेको छ ।
साथै धार्चे गाउँपालिकाका दोभान, माछीखोला, यारुबगर तथा आरुघाट गाउँपालिकाका सोती र आरुघाट बजार क्षेत्रमा पनि बाढीले ठूलो क्षति पुर्याएको छ।
बाढीमा परेर उङ्गिलुङ भेडीगोठमा बसेका चुमनुब्री-६ चुन्चेतका पाँच जना सम्पर्कविहीन बनेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् । साथै सोही क्षेत्रको धाउलेमा बस्ने तीन घरका थप पाँच जना पनि बाढीपछि सम्पर्कविहीन भएको बताईएको छ ।
यसैगरी, बिनाशकारी बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा हालसम्म दुई वटा मोटरेबल र चार वटा झोलुङ्गे पुल बगाएको छ ।
गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने मोटरेबल पुल सोही बाढीले बगाएको हो। साथै, आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल पनि बगाएको छ ।
बूढीगण्डकीको बाढीले धार्चे गाउँपालिका(१ र ३ जोड्ने बेलिब्रिजसमेत दसैँको मुखमा आएको बाढीले बगाउँदा गाउँबस्ती जाने मुख्य पुलहरू नै बगाएपछि स्थिति भयावह बनेको हो ।












प्रतिक्रिया दिनुहोस