
बिबियु,नारी वाटिका डट्कम
धादिङ ८ कात्तिक ।
नेपालीको सबैभन्दा ठुलो चाड बडादशैंको आज अन्तिम दिन अर्थात कोजाग्रत पुर्णिमा पर्व ।
आजको पुर्णिमाका दिन धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रात्रिमा जाग्राम बसेर दशैं वर्पलाई आजैदेखि समापन गरिन लागिएको हो।
गत असोज २५ गते घटस्थापना गरी,जमरा राखी नौ वटी शक्ति स्वरुपा नवदुर्गा भवानीको पुजाअर्चना गरी सुरु भएको बडादशैं आजै आश्विन शुक्ल पूर्णिमा मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर उहाँको भजनकिर्तन गाउँदै १५ दिन लामो बडा दसैँ पर्व समापन गरिँदैछ।
शास्त्रीय मान्यता अनुसार नवदुर्गा भवानीको पुजा विधिका साथ सबै बलिपूर्तिको कार्य आजैदेखी समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुँदैछ।
त्यस्तै टिकाटाला गरी बाँकी रहेका जमरा र टिका लगायर बाँकी अक्षतालाई आजै नजिकको शुद्ध नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाउने गरिन्छ।
घटस्थापनादेखि सुरु भएको बडादशैं पर्वमा आ–आफ्नो गच्छे अनुसार मनाईने गरिन्छ।
साथै आज अन्तिम कोजाग्रत पुर्णिमामा दिनको सायङ्कालमा महालक्ष्मीको पूजा आराधना गरी राती जाग्राम बसेर उहाँको भजनकिर्तन गरेमा पृथ्वी भ्रमण गर्दै हिंडेकी महालक्ष्मी ति भक्तजनका घरमा प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास रहेको समितिका अध्यक्ष सहप्रा.डा पुरुषोत्तम भट्टराई बताउनु हुन्छ ।
देवी दुर्गाका तीन रूपमध्येकी एक रूप आज महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गर्ने गरिन्छ। नवरात्र विजयादशमी कै दिन सकिने भएपनि नवदुर्गाको प्रशादका रुपमा टिका र जमरा आजसम्म आफन्त तथा मान्यजनका हातबाट लगाईएने भएकोले आश्विन शुक्ल अर्थात आज कोजाग्रत पूर्णिमाका दिनमा मात्रै समाप्त हुन्छ।
यससंगै महालक्ष्मीपूजाको यसअघि घटस्थापनाका दिनदेखी नै पुजा आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व रहेको छ। यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ। महालक्ष्मीसँगै आज स्वर्गका राजा इन्द्रको पनि पूजा गर्नु पर्छ भन्ने शास्त्रीय मान्यता छ ।
साथै यस वर्ष आजसम्म दशैंको पर्व रहेकाले १ महिनासम्म कात्तिके स्नान गरी तुलसीको विशेष रूपमा पूजा आराधना गर्ने भक्तहरुका लागी भोली कात्तिक ९ गते सोमबारदेखि सुरु हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ।












प्रतिक्रिया दिनुहोस