आज:  | Thu, 16, May, 2024

आजदेखि देशभरका शैक्षिक संस्था भौतिक रूपमा खुल्दै

१ फाल्गुन २०७८, आईतवार १०:०५ मा प्रकाशित ( २ साल अघि) ३८३ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ– कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेसँगै एक महिना बन्द भएका शैक्षिक संस्था आजदेखि भौतिक रूपमा खुल्ने भएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसमा गत पुस २५ गतेदेखि देशभरका विद्यालय बन्द गरिएकामा सङ्क्रमण दर कम भएसँगै आजदेखि खोल्ने निर्णय भएको हो ।
सिसिएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी सञ्चालन गर्न गत साता सिफारिस गरेको थियो । विद्यालय सञ्चालन गर्दा खोप लगाइसकेका विद्यार्थीका हकमा नियमित रूपमा तथा खोप नलगाएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन सिसिएमसीले गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको थियो ।
त्यही अनुसार आजदेखि विद्यालय भौतिक रूपमा खुल्न लागेका हुन् । आजैदेखि अरु विभिन्न क्षेत्र पनि खुकुलो बनाइएको छ । आजैदेखि खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सिफारिस भएको छ ।
सिसिएमसीको सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी खोल्न दिने निर्णय पनि भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस