
नारी बाटिका
काठमाण्डौ,चैत २२ वुधवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो भने उक्त रिट निवेदनको आज बुधबार सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासमा हिजो मंगलवार पेसी तोकिएको भएता पनि हेर्न नमिल्ने भएपछि आज बुधबारका लागि सुनुवाइ तय भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी गराउनु भएको हो ।
यसअघी लामिछानेको राहदानीको दुरुपयोग सम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नु पर्ने माग राख्दै दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको थियो ।
अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछाने विरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको हो ।
यसअघि नै लामिछानेले प्रक्रियागत रुपमा नेपाली नागरिकता नलिएको सवालको उठान गर्दै नेपाली नागरिक नभएको फैसला सुनाएको थियो । उक्त फैसला सँगै लामिछानेको सांसद र मन्त्री पद समेत दुवै एकैसाथ गुमेको थियो । अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता भने लिइ सक्नु भएको छ ।
महान्यायाधि वक्ता डा पोखरेलले यही चैत ६ गते लामिछाने माथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गर्नु भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालय काठमाण्डौ बाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गर्नु भएको बताइएको थियो । उक्त निर्णय बदर गर्न माग राखी लामिछाने विरुद्धमा रिट निवेदन परेको हो ।
नारी वाटिका संवाददाता








प्रतिक्रिया दिनुहोस