आज:  | Thu, 16, May, 2024

प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा १२ बुँदे सम्झौता पत्रमा हस्ताक्षर

८ आश्विन २०८०, सोमबार १४:५५ मा प्रकाशित ( ७ महिना अघि) ३८५ पाठक संख्या
नारी बाटिका


तस्वीर अनलाईन खबर बाट साभार

बेइजिङ, ८ असोज

नेपाल चीनबीच १२ वटा विषयमा काम गर्नको लागी सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । चिनको प्रधानमन्त्री पुष्पकमल दाहाल(‘प्रचण्ड)र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच नेपाल र चीनबीच विभिन्न विषयमा काम गर्नको लागी १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको जनाएको छ ।

नेपाल सरकारका विषयगत मन्त्रालय अन्तर्गतबाट कार्य गर्ने गरी सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको हो ।

चीनको राष्ट्रिय विकास र सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ । सो सम्झौतामा आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीले हस्ताक्षर गरेका हुन ।

नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र बिक्री वितरण सम्बन्धी सन् २०१७ को नेपाल–चीन समझदारीपत्र राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच आदान प्रदान भएको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि सम्झौता भएको छ ।

यसैगरी चीनको उक्त आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने विषय राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

त्यसैगरी चीनको कृषि तथा ग्रामीण सम्बन्ध मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच कृषि, पशुपन्छी र माछा पालनको विकासका लागि सहकार्य गर्ने विषयमा पनि सहमति भएको छ । यसमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी विकास सचिव डा रेवती रमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको हो ।

चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सन् १९८१ मा भएको नेपाल चीन व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्य टोली गठन गर्ने विषयमा पनि सहमति भएको छ ।
सो सहमतिपत्रमा वाणिज्य तथा आपूर्ति सचिव मधु कुमार मरासिनी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

यसै अवसरमा चीनको सामान्य प्रशासन, भन्सार मन्त्रालय र नेपालको कृषि र पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा औषधि उत्पादनका लागि वनस्पति निर्यात सम्बन्धी प्रोटोकलमा सहमति भएको छ । उक्त प्रोटोकलमा कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा रेवती रमण पौडेल र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

चिनियाँ प्रेस तथा प्रकाशन विभाग र सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने विषयमा सहमति भएको छ । सो सहमतिपत्रमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र नव प्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सो सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ।

साथै प्रकोप सामग्री, मानव संशाधन र हिल्सा–सिमकोट सडक परियोजनाका विषयमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस