आज:  | Wed, 01, May, 2024

आज अक्टोबर २९ अर्थात् विश्व पक्षाघात दिवस

१२ कार्तिक २०८०, आईतवार १४:५६ मा प्रकाशित ( ६ महिना अघि) २८४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ, १२ कात्तिक ।

आज अक्टोबर २९ अर्थात् विश्व पक्षाघात दिवस ,हरेक वर्ष आजको दिनलाई पक्षाघातबाट बच्नको लागी विश्वभर विभिन्न कार्यक्रम गरी मनाईन्छ । ‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षाघातमाथि विजय गर्न सकिन्छ’ भन्ने मुल नाराका साथ आइतबार विश्व पक्षाघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

विस्वब्यापी  रुपमा हरेक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन पक्षाघात दिवस मनाउँदै आइरहेको छ । मानव स्वास्थ्यका लागी पक्षाघात जटिल शारीरिक समस्याको रुपमा लिइन्छ । मानिसको मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने एक जटिल रोग हो ।

मस्तिष्कमा कुनैपनि मानिसलाई अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँनु नै पक्षाघात हुनु हो ।

पक्षाघात भइसकेपछी समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्यु समेत हुन सक्ने चिकित्सक वताउछन । यसको मुख्य सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षाघातका लक्षण हुन् । नेपाल पक्षाघात सङ्घका अध्यक्ष डा राजु पौडेल विश्वभर बर्सेनि एक करोड ३० लाखभन्दा बढी व्यक्तिमा पक्षाघात हुने गरेको बताउनु हुन्छ ।

समयको हरेक छ सेकेण्डमा एक जना र चार जनामा एक जनालाई पक्षाघात हुने गरेको छ । पक्षाघातको उपचारका लागि नेपाल पक्षाघात सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको डा पौडेल बताउनु हुन्छ ।

सङ्घले जर्मनीको युनिभर्सिटी हस्पिटल हाइडल वर्गको सहयोगमा नेपाल पक्षाघात परियोजना सँग सहकार्य गरी काम गर्दै आएको छ । सन् २०१७ मा स्थापना भएको सङ्घले नेपालको पक्षाघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको छ ।

नेपालमा लामो समयदेखी स्वास्थ्य क्षेत्रमा सहयोग पुरयाउँदै आइरहेको जिआइजेड, विश्व स्वास्थ्य सङ्गठन लगायत संस्थासँगको सहकार्यमा नेपालको पक्षाघात न्युनिकरणमा कार्य योजनाका साथ काम गर्दै आइएको उक्त सङ्घले पक्षाघात सम्बन्धी निर्देशिका चाँडो निर्माण गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ ।

सङ्घले देशभरका १५ अस्पतालमा पक्षाघातको अवस्थाबारे सूचीकरण गर्ने, बिरामीको अवस्थाबारे जानकारी राख्ने लगायतका काम पनि गर्दै आएको जनाएको छ । वरिष्ठ न्यूरोलोजिस्ट समेत रहनु भएका डा पौडेल पक्षाघात भएका मध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनु परेकोले यसको जोखिम बढन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु हुन्छ ।

“विश्वमा हरेक चार जनामा एक जनालाई र छ सेकेन्डमा एक जनालाई पक्षाघातको सम्भावना रहेको हुन्छ, यसबाट सजग हुनुपर्छ”, उहाँ भन्नुहुन्छ । नेपाल जस्तो अल्प विकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको पौडेल जोड दिनुहुन्छ । नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

डा पौडेलका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ ।

यस्तै सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु,आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको डा पौडेल बताउनु हुन्छ ।

पक्षाघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र यसका अलावा बिरामीलाई फिजियो थेरापी गर्नुपर्ने हुन्छ ।

नेपालमा भौगोलिक विकटता, सीमित स्रोत साधन र दक्ष जनशक्तिको अभावका कारण पक्षाघातको उपचारमा चुनौतीपूर्ण हुँदै गएको छ । समयमै रोग पहिचान गरेर उपचार गर्न सकेमा मात्रै उपचार सम्भव रहेको डा पौडेल बताउनु हुन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस