आज:  | Sat, 04, May, 2024

आज माघेसंक्रान्ति अर्थात माघी पर्व विभिन्न परिकार खाएर धुमधामकासाथ मनाइँदै

१ माघ २०८०, सोमबार ०८:१६ मा प्रकाशित ( ३ महिना अघि) ३०० पाठक संख्या
नारी बाटिका


काठमाडौं १ माघ ।

नेपालीको माघेसंक्रान्ति अर्थात माघी पर्र्व आज विभिन्न परिकार खाएर धुमधामकासाथ मनाइँदैछ । यस्तै थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् ।

आजबाट सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । तराई क्षेत्रमा यो पर्व माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ मनाइने गरिन्छ । थारु समुदायको परम्परा अनुसार आज बिहानै नदी,तलाउ तथा शुद्ध जलाशयमा गई स्नान, पूजा गरी आफु भन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने गरिन्छ ।

आज बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँने गर्दछन् । मुढा बालेर त्यस धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । आज दिनदेखि पाँच दिन तथा माघ ५ गतेसम्म उनीहरुले आफू स्वतन्त्र भएको महसुश गर्दछन् । माघेसंक्रान्तिकै अवसरमा आर्थिक रुपमा खर्च धान्न सक्नेहरु चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन रहेको छ ।

दिवांगत भएका आफ्ना पितृहरुको कुनै कारणवश श्राद्ध कर्म रोकिएको रहेछ भने आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत समेत रहेको छ ।

आफ्ना गाउँमा मान्ने गुन्ने मुखिया सबै मिलेर छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने चलन रही आएकोछ ।

तराई मात्रै नभएर नेपालको त्रेरै पहाडी भु भागका समुदायका ब्यक्तीहरुले आफुलाई अप्ठ्यारो पर्दा आपसी समझदारीमा ऋण लिने र आजैको दिन फिर्ता गर्ने सर्त राखिएको हुन्छ । तर तराई क्षेत्रमा भने धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखिया लगायत वर्षभर काम गर्ने पदको छनौट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।

विशेषगरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी पर्व पनि भन्ने चलन छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराईका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ ।

विसं २०७२ साउन २ मा सरकारले निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा समेत मनाउन थालिएको हो । आजको दिनलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ । आजबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भन्ने गरिएको हो । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटो हुँदै जाने गर्दछ ।

धार्मिक विधि विधान अनुसार उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका क्षेत्रमा माघे स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेला समेत लाग्ने गर्दछ । तराईवासीले आजको दिनलाई नहान अर्थात नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउने तराईवासीले आज भने अनिवार्य नुहाउनै पर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

त्यसैगरी आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मानिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाउनु भए अनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।

माघ महिनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्य अन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको दोहोरो संवाद अर्थात् स्वस्थानी ब्रतकथा सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि नै शुरु भइसकेको छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।

यसैवीच, मकर सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै एकआपसमा खुशी साटासाट गर्ने गरिन्छ । नेपालीको विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको र यहाँ प्रचलित बहुमूल्य सम्पत्तिका रूपमा रहेका पर्वलाई सरकारले संरक्षण गर्दै आउनु पर्ने धार्मिक विदहरुको भनाई छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस