आज:  | Sun, 05, May, 2024

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भोलि बिहान युगाण्डा जाँदै

३ माघ २०८०, बुधबार १५:२९ मा प्रकाशित ( ३ महिना अघि) २२४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ३ माघ ।

बिहिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) युगाण्डा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल ‘ असंलग्न आन्दोलन (नाम)को १९ औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल सहितको नेतृत्व गर्दै भोलि (माघ ४ मा) युगान्डा गणतन्त्र प्रस्थान गर्न लाग्नु भएको हो।

प्रधानमन्त्री भोलि बिहान २ः१५ बजे कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यही माघ ५ गते देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा शिखर सम्मेलन हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई माघ ५ गते सम्बोधन गर्ने कार्यसुचि रहेको छ । त्यसै दिन प्रधानमन्त्री दाहाल युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुने जनाईएकोछ ।

प्रधानमन्त्री दाहालले शिखर सम्मेलनकै क्रममा सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। यसअघि बुधबार र बिहीबार बस्ने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री एम्पी साउद माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसक्नु भएको छ। मन्त्रीस्तरिय बैठक अघि माघ १ र २ गते वरिष्ठ अधिकारीहरूको बैठक बसेको थियो ।

शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८ औँ शिखर सम्मेलनको निर्णय कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । यो स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आईरहेकोछ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीति मध्यको आधारभूत सिद्धान्त हो । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे स्वदेश फर्कनेछन्।

१९ औँ शिखर सम्मेलनपछि तेस्रो दक्षिण शिखर सम्मेलन माघ ७ देखि ८ गतेसम्म कम्पालामा हुँदैछ। दक्षिण शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव लम्सालले गर्ने भएकी छिन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस