आज:  | Sun, 19, May, 2024

राष्ट्रिय सभाबाट निर्वाचित भएका १९ जना सदस्यको आज शपथग्रहण आज अध्यक्षको निर्बाचान फागुन२९मा

२१ फाल्गुन २०८०, सोमबार ०८:०० मा प्रकाशित ( २ महिना अघि) १७५ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २१ फागुन।

देशका ठुला र गठवन्धन दलको सिट भागवण्डाबाट राष्ट्रिय सभामा निर्वाचित भएका १९ जना सदस्यको आज शपथग्रहण हुंदैछ । सोमबार निर्वाचित १९ सदस्यहरुले शपथग्रहण गर्दै छन् । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका लागि २०७४ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिँदै छ ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा आज बिहान साढे ११ बजे नवनिर्वाचित सदस्यको शपथग्रहण हुने सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनु भयो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा निर्वाचित सदस्यले राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्ति समक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आइतबार मध्यरातिबाट सकिएकोले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउनु हुने प्रवक्ता गिरीले जानकारी दिनु भयो ।

सचिवालयका अनुसार निर्वाचित सदस्यमध्ये एक जनाले मातृभाषामा शपथग्रहण गर्ने भएका छन् । सुदूरपश्चिमबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रेनु चन्दले मातृभाषामा शपथ लिने जनाईएको छ । चन्द नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित हुनु भएको हो ।

गत महिनाको माघ ११ गते सम्पन्न निर्वाचनले राष्ट्रिय सभाका १९ सदस्य निर्वाचित गरेको थियो । रिक्त रहेको एक जना सदस्य राष्ट्रपतिबाट मनोनित हुने छन् । शपथग्रहण गरेका सदस्यहरुले सोमबार नै राष्ट्रिय सभाको बैठकमा सहभागी हुने भएका छन् । राष्ट्रिय सभाको बैठक आजै अपराह्न १ बजेर १७ मिनेटमा बस्ने तय गरिएको छ ।

मुलुकमा सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा सत्तारूढ नेकपा (माओवादी केन्द्र) ठुलो दल बन्ने अबसर पाएको छ । माओवादीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यको सङ्ख्या १७ पुगेको छ । प्रतिनिधि सभामा भने माओवादी केन्द्र तेस्रो ठुलो दल हो ।

यस्तै नेपाली कांग्रेस दोस्रो ठुलो दल बनेको छ । सो दलको सदस्य सङ्ख्या १६ छ । यसअघि सबैभन्दा ठुलो दल रहेको नेकपा (एमाले) तेस्रो दलको हैसियतमा खुम्चिएको छ । तर मुलुकको प्रतिनिधि सभामा भने नेपाली कांग्रेस पहिलो दल र नेकपा (एमाले) दोस्रो ठुलो दल हो ।

प्रतिनिधि सभामा राष्ट्रिय दलको हैसियत गुमाउन पुगेको नेकपा (एकीकृत समाजवादी)पार्टी भने राष्ट्रिय सभाको चौथो ठुलो दल बनेको हो । उक्त दलको सदस्य सङ्ख्या आठ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी,जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको उपस्थिति राष्ट्रिय सभामा रहेको छैन ।

राष्ट्रिय सभाका अध्यक्ष पदको निर्वाचन भने आगामी फागुन २९ गते गर्ने गरी सम्भावित कार्यसूची तय गरिएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आउने आइतबार मध्यरातमा सकिँदै छ ।

यसैगरी राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले माघ र फागुन महिनाका लागि तयार गरेको सम्भावित कार्यसूची बमोजिम अध्यक्षको निर्वाचन यही फागुन २९ गते सम्पन्न गर्ने तयारी गरिएको थियो ।

सचिवालयका प्रवक्ता गिरीका अनुसार, “एक तिहाइ सदस्य निर्वाचित भएर आउनु भएको छ । कार्यव्यवस्था समिति पुनर्गठन हुन सक्छ । पुनर्गठित समितिले कार्यसूची हेरफेर नगरेमा सम्भावित मितिमै अध्यक्षको निर्वाचन हुन्छ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस