आज:  | Mon, 23, Jun, 2025

मिथेन ग्याँसको ब्रिफिङ छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

९ असार २०८२, सोमबार ०६:५६ मा प्रकाशित ( ५ घण्टा अघि) १०२४ पटक पढिएको
नारी बाटिका


काठमाडौं -९ असार ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिनु भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा एवं भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराइएको थियो ।

चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदन अनुसार हालको ड्रिल साइटमा ११२ दशमलव १ अर्ब घनमिटरको प्राकृतिक मिथेन ग्याँसको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्याँसको भण्डार हुन सक्ने अनुमान गरिएको प्रधानमन्त्री वलीलाइए अवगत गराइएको हो ।

सोही क्रममा प्रधानमन्त्री ओलीले एक वर्षभित्र उक्त ग्यासलाई उपयोगमा ल्याउन सकिने गरी परीक्षण मिथेन ग्याँसको उत्पादनमा गम्भीरतापूर्वक लाग्न निर्देशन दिँदै यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने स्पष्ट पार्नु भएको थियो।

यसका साथै, पूर्वी नवलपरासीमा ड्रिलिङ कार्य तथा फलाम खानीको धौवादी फलाम कम्पनी लिमिटेडले सम्भाव्यता अध्ययन भई प्रक्रिया अघि बढिरहेको विषयमा प्रधानमन्त्री ओलीलाई अवगत गराइएको थियो । सो स्थानबाट उत्पापादन हुने फलामले नेपाललाई आगामी सय वर्षका लागि पुग्ने करिब ९९ मिलियन टन फलामको धाउ भण्डार उत्खनन् गर्न सकिने कम्पनीले जानकारी गराएको छ ।

नियमित प्रक्रियाबाट २०८५ सालभित्रमा फलाम(स्टिल उत्पादन गर्न सकिने कम्पनीको प्रस्तुति रहेको छ । प्रधानमन्त्री ओलीले २०८५ साल अघि नै फलाम(स्टिल उत्पादान गरी बिक्री र उपयोगमा ल्याउने गरी तयारी गर्न निर्देशन दिनु भएको हो ।

यी दुवै कार्यका लागि सरकारले स्रोत, साधन र कानुनी सहजीकरणका सबै प्रबन्ध गर्ने स्पष्ट पार्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस