आज: २०८२ श्रावण ११, आईतबार | Sun, 27, Jul, 2025

राहदानी छपाइसम्बन्धी साढे सात अर्बको ठेक्का विवादित

२०८२ श्रावण ११, आईतबार मा प्रकाशित ( ६ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


काठमाडौं -११ साउन ।

राहदानी विभागले झण्डै ६४ लाख इ–पासपोर्ट छपाईका लागि दुईवटा कम्पनीलाई दिएको साढे ७ अर्ब रुपियाँ भन्दा बढिको ठेक्का विवादित भएको छ ।
दुई दलको भागवण्डामा आफू अनुकूल ठेक्का दिन सर्भर सम्बन्धी प्रावधान नै परिवर्तन गरिएको खुलासा भएसंगै यस कार्य विवादित बन्न पुगेको हो ।

यसअघि पासपोर्ट टेण्डरको एउटा मात्रै प्याकेज हुने गरेकोमा यो पटकमा भने सत्तारुढ दल एमाले र काग्रेस दुबै निकटका ठेकेदारलाई भाग पु¥याउन एउटै टेण्डरलाई ट्क्र्याएर दुईवटा प्याकेज बनाई ठेक्कामा दिएको विषयले सार्वजनिक भएको थियो । विभागले दिएको प्याकेज १ र २ गरी दुइवटै ठेक्का विवादमा परेपछी प्याकेज १ सफ्टवेयर र सर्भरसम्वन्धी तथा प्याकेज २ पासपोर्ट छपाई सम्वन्धी मिलेमतो सवाल यतिवेला चौतर्फी रुपमा चुलिएको छ ।

परराष्ट्र मन्त्रालयकै चहनामा राहदानी विभागले सेटिङका आधारमा दुई वटा कम्पनीलाई सो ठेक्का दिएको विषय बाहिरीयपछी ठेक्का विवादमा परेको हो । परराष्ट्रमन्त्री कै सहमतिमा यो ठेक्का दिएको आरोप लागेको छ । जर्मनी कम्पनी भेरिडासले राहदानी छपाई सम्वन्धि ६ अर्ब ११ करोड रुपियाँको मुख्य ठेक्का दिएपछी अर्को जर्मनीकै कम्पनीलाई म्युहलबाउर आइडी सर्भिसले १ अर्ब ५५ करोडमा ठेक्का दिएको हो ।

मुख्य ठेक्का पाउने भेरिडास कम्पनीका नेपाल प्रतिनिधि सिद्धार्थ थापा सरकारका ठुला पहँचवालाको पारिवारिक सम्वन्ध रहेको एक स्रोतले बताएको छ । उनीसंग पहुँचवाला मन्त्री लगायत कांग्रेस नेताहरूसँग निकटता छ । अर्को ठेक्का पाउने म्युहलबाउरका नेपालका प्रतिनिधि व्यवसायी मनिन्द्रकुमार मल्ल नेकपा (एमाले) निकट हुन् । उनीहरु दुबै कम्पनीले पार्टीकै पहुँचबाट ठेक्का हात पार्न सफल भएका हुन् ।

ई–पासपोर्ट छपाइका लागि गरिएको बोलपत्र प्रक्रियामा शृंखलाबद्ध ‘सेटिङ’ भेटिएपछि ठेक्का विवादित बनेको हो । राहदानी विभाग स्रोतका अनुसार अनिवार्य प्राविधिक मापदण्ड उल्लंघन गर्दै राहदानी विभागले दुई जर्मन कम्पनीको बोलपत्र स्वीकृत गर्दा सार्वजनिक खरिद नियमावली समेत मिचिएको छ ।

पासपोर्ट छपाइ गर्ने प्रिन्टर संख्यामा समेत सेटिङकै आधारमा ‘टेक्निकल स्पेसिफिकेसन’मा उल्लेख गरिएभन्दा फरक प्रस्ताव स्वीकार गरिएको स्रोतको दावी छ । बोलपत्रमा प्रिन्टरको संख्याबारे स्पष्ट रूपमा ‘एन प्लस वान’ प्रणाली अनिवार्य व्यवस्था गरिएको छ । जसअनुसार दुईवटा नियमित छपाईका लागि र कुनै एउटा विग्रिएमा अर्कोले काम गर्ने गरि अतिरिक्त प्रिन्टर गरी ३ वटा प्रिन्टर ल्याउनुपर्ने सर्त थियो ।

तर सर्तनामा भन्दा बाहिर गइ पासपोर्ट छपाइको ठेक्का पाएको जर्मन कम्पनी भेरिडासले दुईवटा मात्र प्रिन्टरको प्रस्ताव गर्दा पनि स्वीकार गरिएको छ । करोडौ मूल्यको प्रिन्टर सितैमा दिने बताउनुले मिलेमतोको आशंका जन्माएको छ । ठेक्का हत्याउन पछि सित्तैमा थप एउटा प्रिन्टर दिने कुरा सार्वजनिक खरिद अनुगमन कार्यालयको नियम विपरित हो । यसो गर्दा अरु ठेकदारहरुसँगको व्यवहारमा समानता हुँदैन ।

ठेक्कासम्बन्धी विवरण अनुसार टेक्निकल स्पेसिफिकेसनको बुँदा नम्बर ४.२.१२ मा ‘एन प्लस वान’को व्यवस्था छ । जस अनुसार घण्टामा एक हजारका दरले पासपोर्ट छाप्नु पर्ने हुन्छ । तर सो सम्भव नभएको विज्ञहरुको भनाई छ । एक घण्टामा हजार छपाई पु¥याउन कम्तीमा दुईवटा प्रिन्टर नियमित छपाइमा र एउटा जगेडाको रुपमा राख्नुपर्ने हुन्छ । तर, भेरिडासले दुईवटा मात्र प्रिन्टरको प्रस्ताव गर्दा पनि प्रस्ताव स्वीकार गरेको पाइएकाले सेटिङ भएको भन्ने तथ्यलाई पुष्टि गरेको छ ।

भेरिडासले आर्थिक प्रस्तावमा १२ लाख युरोका दरले दुईवटा प्रिन्टरको प्रस्ताव गरेको छ । प्राविधिक मूल्यांकनमा पास भएको अर्को कम्पनी आइडिमियाले भने ९ लाख अमेरिकी डलरका दरले तीनवटा प्रिन्टरको प्रस्ताव गरेको थियो । आर्थिक मूल्यांकनमा कम हुनका लागि र तेस्रो प्रिन्टर बाध्यकारी नहुन भेरिडासले चलाखी गरेको बुझिएको छ ।

राहदानी विभागसँगकै सेटिङको आधारमा यस्तो गरिएको बताइएको छ । स्रोतका अनुसार एउटै प्रिन्टरको मूल्य करिब १७ करोड रुपैयाँ पर्ने भएकाले यो ठेक्कामा ठुलो चलखेल र सेटिङ भएको पाइएको हो । अर्को कम्पनी आइडिमियाले एउटै सर्भरको मूल्य एक लाख १० हजार डलर प्रस्ताव गरेकोमा जर्मन कम्पनीद्वय आइडी सर्भिस र भेरिडासले २२ हजारका दरले प्रस्ताव गरेका छन् । कमसल सर्भर भएकाले उनीहरूले सस्तो मूल्य प्रस्ताव गरी त्यही अनुसार ठेक्का पाएका हुन् ।

विवादित बनेको यो ठेक्कामा जर्मन कम्पनीद्वय म्युहलबाउर आइडी सर्भिस र भेरिडासलाई टेन्डर दिलाउनका लागि सर्भरसम्बन्धी प्रावधानमा पनि विशेष निर्णय गरिएको थियो । टेक्निकल स्पेसिफिकेसनमा ‘ब्लेड सर्भर’को प्रावधान राखिएकोमा दुवै जर्मन कम्पनीले पुरानो प्रविधिको र सस्तो पर्ने ‘¥याक सर्भर’को प्रस्ताव गरेका थिए ।

जबकि क्षमता र मूल्य दुवै हिसाबले यी दुई सर्भरमा ठुलो भिन्नता रहेको बताइएको छ । टेण्डरको परीक्षणमा पनि ‘कम्पलाइन्ट अर नन्कम्प्लाइन्ट’ भन्ने हुन्छ । ‘पार्सियल कम्प्लाइन्ट’ भनेर जर्वजस्ती टेण्डर दिनकै लागि यस्तो सेटिङ गरेको पाईएको छ । टेण्डरको ३.१.२३ मा हेर्दा पार्सियल कम्प्लाइन्ट धेरै ठाउँमा हुनुले वद्नियतलाई पुष्टि गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस